पाँचथर । जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका पहिलेको याङनाम गाविसको एकै गाउँका दुई जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । दशैँका अवसरमा कारागारभित्रै ल्याएर मारेको सँगुरको मासु पकाएर खाँदा उनीहरुको मृत्यु भएको थियो ।

आइतबार राति सँगुरको मासु खाएर बिरामी परेका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा ज्यान गएको हो । यस्तै मासु खाएर बिरामी परेका ३४ वर्षीय जयप्रकाश जवेगुको पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा सोमबार राति बाटोमै ज्यान गएको थियो ।

मासु खाएर ज्यान गुमाएका दुवै जना छिमेकी हुन् । एकै गाँउका दुईजनाको मृत्युपछि दशैँ पनि अमिलो भएको छ ।

मासु खाएर ज्यान गुमाउने मध्ये केरुङ ३ वर्षअघिदेखि जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने जवेगु कर्तव्य ज्यान अन्तर्गतको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए ।

मासु खाएर अन्य दुई जना पनि बिरामी परेका छन् । बिरामी पर्नेहरु कुम्मायक गाउँपालिकाका दिनेश खजुम र फालेलुङ गाउँपालिकाका सुन्दर राई रहेका छन् । उनीहरुको बीएण्डसी अस्पताल झापामा उपचार भइरहेको उज्यालो अनलाइनमा खबर छ ।