झापा । भुटानमा सुरु भएको महिला साफ यू-१५ च्याम्पिनसिपमा नेपाली टोलीले पहिलो खेलमा बुधबार भारतसँग ४-१ ले पराजित भएको छ । एकोहोरो दबाब झेलेको नेपाली टोलीले भारतसँग पहिलो खेलमै कमजोर सुरुवात गरेको हो ।

एक पक्षीय खेलको पहिलो हाफमै नेपाल २-० ले पछाडि परेको थियो । भारतका लागि सुमिता कुमारले सात मिनेटमा पहिलो गोल गरिन् । अर्को गोल ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल थपिन् । दोस्रो हाफमा पनि नेपाली टोलीमाथि भारतले दबाब बनाइ राख्यो ।

प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । नेपालका लागि मनमाया धामीले ६२ औं मिनेटमा गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा अर्को गोल गर्दै भारतको गोलअन्तरलाई पुनः बढाइन् ।

एक साता चल्ने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । अर्को खेल आयोजक भुटानसँग आसोज २६ गते खेल्नेछ । राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल असोज २८ गते हुनेछ ।