काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लाग्नु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति सी विमानस्थलबाट अवतरण गर्नु भएलगत्तै राष्ट्रपति भण्डारीले उहाँलाई स्वागत गर्नुभएको हो । सो अबसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको थियो । राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थलमै सलामी अपर्ण गरेको थियो ।

विमानस्थलमै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति हुनुहुन्थ्यो । त्यसैगरी, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासहितका मन्त्रीहरु पनि उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो ।

चिनियाँ राष्ट्रपति सीले आजै साँझ राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु हुने कार्यक्रम रहेको छ । त्यस्तै उहाँले आज साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चिनियाँ राष्ट्रपति सीको सम्ममान राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा उहाँ सहभागी हुनु हुने कार्यक्रम रहेको छ । सो अबसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतबार राष्ट्रपति सी ले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनुका साथै नेपाल र चीनबीच हुने केही द्वीपक्षीय सम्झौताको हस्ताक्षर कार्यक्रममा उपस्थित हुनु हुनेछ ।