काठमाडौँ । नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउने प्रयोगकर्ता ४१ लाख नाघेका छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार एनसेलका ३१ लाख २८ हजार र नेपाल टेलिकमका ८ लाख १८ हजार ग्राहकले मोबाइल ब्रोडब्यान्ड फोरजी चलाउँछन् ।

नेपालमा १७ पुस ०७३ देखि फोरजी सेवा सुरु भएको हो । सेवाप्रदायकहरू एनसेल र नेपाल टेलिकमले फोरजीको नेटवर्क विस्तारलाई तीव्रता दिइरहेका छन् । हालसम्म नेपाल टेलिकमले ३६ जिल्लाका ६० सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ । त्यस्तै, एनसेलले पनि देशभरका करिब १ हजार स्थानमा फोरजी पु¥याइसकेको जनाएको छ ।

साउनसम्मको तथ्यांकमा ४१ लाख देखिए पनि फोरजीको ग्राहक ५० लाखभन्दा बढी पुगिसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘साउनसम्ममा टेलिकमको फोरजी प्रयोगकर्ता सवा ८ लाख देखिएका छन्, जब कि यसबीचमा हामीले सातै प्रदेशका धेरै सहरमा फोरजी विस्तार गरिसकेका छौँ’, उनले भने, ‘अहिले टेलिकमका फोरजी प्रयोगकर्ता १० लाख नाघिसकेका छन् ।’

नेपाल टेलिकम र एनसेल दुवै कम्पनीले फोरजी विस्तारलाई तीव्रता दिइरहेका छन् । खासगरी मुख्य-मुख्य सहर-बजार तथा पर्यटकीय क्षेत्रमा फोरजी विस्तार भइरहेको कम्पनीले जनाएका छन् । ‘अहिले टेलिकमले चाहिँ बजारीकरणमा भन्दा बढी नेटवर्क विस्तारमा ध्यान दिइरहेको छ’, अधिकारीले भने, ‘माघसम्म हामी देशैभर फोरजी पुर्‍याउँदै छौँ ।’

दूरसञ्चार सेवाको विस्तारसँगै मोबाइल ब्रोडब्यान्ड चलाउनेको संख्या बढ्दै गएको छ । प्राधिकरणका अनुसार गत साउन मसान्तसम्ममा कुल इन्टरनेट प्रयोगकर्ता १ करोड ९८ लाख पुगिसकेका छन् । यसमध्ये १ करोड ५५ लाख ५५ हजारले मोबाइल ब्रोडब्यान्ड चलाउने गरेका छन् । हालसम्म कुल जनसंख्याको ६७।३२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । त्यस्तै, मोबाइल ब्रोडब्यान्डको पहुँच ५२।७१ प्रतिशत पुगिसकेको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार समीक्षा अवधिसम्ममा मोबाइल सेवाप्रदायकले कुल ३ करोड ९२ लाख ३९ हजार थान सिम बिक्री गरेका छन् । यसमध्ये नेपाल टेलिकमका २ करोड ४ लाख र एनसेलका १ करोड ६६ लाख थान रहेका छन् । मोबाइल सेवा लिएका मध्ये १ करोड १२ लाख प्रयोगकर्ताले थ्रिजी सेवा उपयोग गर्दै आएका छन् ।

के हो फोरजी ?
चौथो पुस्ताको मोबाइल सेवा (फोरजी/एलटिई) तीव्र गतिको वायरलेस प्रविधि हो । यस प्रविधिमा आधारित भएर एलटिई, वाइम्याक्सलगायत सेवा सञ्चालन गर्न सकिन्छ । खासगरी फोरजीको प्रयोगबाट प्रत्यक्ष भिडियो कल गर्न, द्रूत गतिमा इन्टरनेट चलाउन, ठुल्ठूला फाइल डाउनलोड तथा अपलोड गर्न सहज बनाउँछ ।

विश्वबजारमा फोरजी सन् २००९ देखि नै सुरू भएको हो । नेपालमा भने १७ पुस २०७३ देखि सुरु भएको हो । टेलिकमले सञ्चालन गरेको फोरजीरएलटिई नेपालमा अहिलेसम्म सञ्चालनमा रहेकाभन्दा माथिल्लोस्तरको मोबाइल प्रविधि भएको टेलिकमले दाबी गरेको छ । यसको अधिकतम गति २४७ एमबिपिएस रहेको छ । यसको औसत गति भने १ सय ३० एमबिपिएस मापन गरिएको छ ।