झापा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन् ।

बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियोगिताका लागि बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

यो सन्दीपको अहिलेसम्मकै उच्च मूल्य पनि हो । सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए । एक सय बलको हुने ‘द हन्ड्रेड’ प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।