दमक । झापाको दमक-३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा शान्तिदीप युवा क्लब दमक-९ ले जीत दर्ता गरेको छ ।

न्यू स्टार युथ क्लब दमक-४ लाई ३-१ को गोलअन्तरले शान्तिदीपले स्पष्ट जीत दर्ता गरेको हो । शान्तिदीपका तर्फबाट श्याम खड्काले खेलको ६ मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए । सोही टिमका अरुण लिम्बुले ३५औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए । उनले ४६औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

न्यू स्टारका तर्फबाट भने सुनिल लिम्बुले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच शान्तिदीपका अरुण लिम्बु घोषित भएको खेल संयोजक कुमार गिरीले जानकारी दिए ।

दमक-३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । कार्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने दमक-३ का वडाध्यक्ष नविन बरालले बताए ।

शनिबार आयोजकसँग दमक लखनपुर भेट्रान फुटबल क्लबबीच खेल हुनेछ ।