झिलझिले । नगरभित्र गौरवका आयोजना सञ्चालन गर्ने क्रममा नगर कार्यपालिकाबाट वडा जाने सिलिङ्ग बजेट वडाको मागअनुसार हुन नसकेको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले स्पष्ट पारेका छन् ।

नगरभित्रका गौरवका आयोजनाहरु सञ्चालन भइरहेकाले ति आयोजना पनि वडाभित्रै सञ्चालन हुने हुँदा सिलिङ्ग बजेट केही खुम्चिएको उनले स्वीकार गरे । नगरका शिवसताक्षी, दोमुखा, चिल्लागढ जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण, नगरको रिङ्ग रोड, नगरका ११ वटै वडाले नगर कार्यपालिकाको कार्यालय जोड्ने रोडजस्ता पूर्वाधार निर्माण भइरहेकाले वडाको सिलिङ्ग बजेट साविककै स्थितिमा रहेको नगर प्रमुख शेर्माले नगरबासीलाई सुनाए ।

‘नगरले सञ्चालन गर्ने योजना पनि वडाभित्रैका आयोजना हुन्, नगरमा बाटो, पुल, कल्भर्टलगायतका स्थायी संरचना निर्माण भइरहेका छन्, अब नगरबासीले यहाँ पुल भएन त्याँ पुल भएन भनेर माग गर्ने अवस्था रहँदैन’, उनले भने, ‘आगामी वर्षदेखि वडामा जाने सिलिङ्ग बजेट बृद्धि हुनसक्छ, नगर गौरवका आयोजना दिनदिनै निर्माण सम्पन्न हुँदै आएका छन् । त्यसपछि वडाका सिलिङ्ग बजेट बृद्धि हुनेमा तपाईहरु ढुक्क हुनुहोस् ।’

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले आइतबार आयोजना गरेको २०७६/०७७ को वडाको गतिविधि, खेलाडी, ज्येष्ठ नागरिक सम्मान र चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्माले नेपाल सरकारबाट गठित झापा जिल्लाको महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, र शिवगञ्ज क्षेत्रको जग्गा सम्बन्धी समितिले जग्गाको लगत संकलन गर्ने कार्य भइरहेको बताउँदै वास्तविक सुकुम्बासीले केही दिनमा जग्गाधनी प्रमाण पुर्जा पाउने दाबी गरे ।

उनले भने, ‘राजश्वका विषयमा किसानका केही गुनासा छन्, सरकारले यस विषयमा पुनर्विचार गरोस् भन्नेमा शिवसताक्षी नगरपालिका सकारात्मक छ ।’

नगर प्रमुख शेर्माले केही आफ्नै साथीले नगरका विकासे गतिविधिका विषयलाई लिएर सामाजिक संजालमा गरेको कटु आलोचनाले नगरलाई समृद्ध नबनाउने बताए । करोडौँ रुपैयाँ खर्चेर सञ्चालन भइरहेका आयोजनालाई कतिपयले सुँगुरको आहाल बस्ने ठाउँ भनेर गरेको टिप्पणीप्रति नगर प्रमुख शेर्माले दुःख व्यक्त गरे ।

उनले भने, ‘निर्माणाधीन डुडामारी सिमसार क्षेत्रलाई भैँसी र सुँगुर आहाल भनेर टिप्पणी गर्नुभएको छ, यो नगरको रहर होइन आवश्यकता हो । कतिपय ठाउँमा व्यावसायिकरुपमा करोडौँ खर्चेर व्यवसायीले पर्यटकीय क्षेत्र निर्माण गरेर आम्दानी गरिरहेका छन् । डुडामारी सिमसार सरकारले लगानी गरेर निर्माण गर्ने पर्यटकीय पूर्वाधार हो । जसले बर्सेनि नगरको आम्दानी बढाउँछ ।’