राजु पौडेल,
झापा । झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिका-४ हल्लुडेकी माया पाख्रिनलाई कतिबेला पहिरोले घर नै सोहोर्ला भन्ने चिन्ताले सताइरहन्छ । घरबाट करिब एक सय मिटर पर एक वर्षअघि गएको पहिरो बढ्दै गइरहेको छ । मायाजस्ता हजारौं चुरे पहाड क्षेत्रका बासिन्दाको समस्या र त्रास उस्तै छ । कसैलाई पहिरोले घरै लगिदेला भन्ने त कसैलाई जमिन भाँसिएर बस्ती पुरिने डर छ ।

बर्खै पिच्छे उर्लिएर आउने खहरे खोलाको बिझाई त झनै भनी साध्य छैन । हिउँदमा समेत सुख्खा पहिरो खस्दा झापा र इलामको सिमावर्ती रोङको चुरे क्षेत्रका बासिन्दा दिनरात पिरोलिरहेका छन् ।

रोङ गाउँपालिकाका जम्मा ६ वटा वडामध्ये प्रत्येक वडाको दक्षिणी भाग संवेदनशील चुरे क्षेत्रमा अवस्थित छ । टाङटिङ, बिरिङ, टिमाई, निन्दा र मेची जस्ता ठूलासाना गरी करिब १० वटा उत्तरबाट दक्षिणा बगेका नदीहरु रहेका छन् भने दर्जनौँ खहरेहरु रहेका छन् । यी नदीहरुकोे कटानका साथै ६ वटै वडामा रहेको बस्ती र खेतीयोग्य जमिन नै जोखिममा पार्ने ठूला-ठूला पहिरोहरु यस गाउँपालिकाभित्रकोे मुख्य प्राकृतिक समस्या रहँदै आएको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले बताए ।

कच्ची चुरे क्षेत्रसँग सम्बधित बिभिन्न समस्याबाट रोङका कयौँ गाउँहरु प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । भू-क्षय, बाढी, पहिरो, खडेरी लगायतका समस्याबाट स्थानीय बरफल्याङ, झटारे, कागुने, बाहुनीखर्क, प्यूरे, बहुवन, पाटापुर, सलकपुर र रम्भ्याङ जस्ता गाउँहरु प्रभावित हुदै आएका छन् ।

समथर डाँडामा तराइको रुपमा रहेको बरफल्याङ गाउँको पुर्व-दक्षिण भागमा ठूल-ठूला पहिरोहरु रहेका छन् । यहाँको खरबनीमा पहिरोका कारण मात्रै १५ घर प्रत्यक्ष प्रभावित बनेका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भएको छ । त्यस्तै नजिकै बगैँचामा रहेको पहिरोका कारण धानखेत भाँसिएर पहिरो बन्नुका साथै छेउछाउका खेतीयोग्य जमिन समेत भासिने क्रममा रहेकाले बस्ती नै जोखिममा रहेका रोङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।

‘बरफल्याङ वरिपरिका गाउँहरु असुरे, कुवापानी, दुधे लगायतका बस्तीका लगभग ७० घर भू-क्षयका कारण विस्थापित भइसकेका छन्’, तामाङले भने, ‘असुरे, बगैचा, दुधे, कुवापानी, झटारे, धर्मदलेमा हरेक वर्ष पहिरो जाने र गाउँनै चर्किने, भाँसिने, खानेपानीको मुहान पुरिने लगायतका समस्या रहेको छ ।’

उनका अनुसार शान्तिपुरको तल्लो क्षेत्रमा मात्रै यस्ता प्रत्यक्ष असर गर्दै आएको दर्जनौ पहिरोहरु रहेका छन् । स्थानीय धोजे पहिरोले ठुटे गाउँ जोखिममा मात्र छैन हरेक बर्ष भाँसिने क्रममा छ ।

रोङ-१ को बडहरेबारीको पहिरो हरेकसाल बढ्दैछ । यही पहिरो ठूलो हुँदै जाँदा नजिकैको कागुने गाउँ हरेकसाल भाँसिदै आएको स्थानीयको अनुभव रहेको छ । पहिरोका कारण गाउँका अधिकाशं घरभित्रको जमिनमा समेत धाँजा फाटेर चिरिएको रोङ-१ का जनप्रतिनिधि महानन्द अधिकारीले बताए ।

वडा नम्बर ४ बाहुनी खर्कको कमेरे भिर, सेती पहिरो र ओडारे पहिरोका कारण हरेकसाल बिभिन्न बिपत्ति निम्तदैँ आएको स्थानीयबासी बताउँदै आएका छन् । यसैगरी रोङ गाउँपालिकाको वडा नम्बर ४ र ५ हुँदै बग्ने टिमाई खोलाका कारण तल्लो प्युरे गाउँ नै जोखिममा छ । गाउँबाट टिमाई खोलासम्म झरेको रोङ गाउँपालिकाकै सबैभन्दा ठुलो प्युरेको पहिरोका कारण ३० वटाभन्दा बढी घर उच्च जोखिममा रहेका छन् ।

खोलामा बाढी आएसँगै पहिरोको फेद कटानमा पर्ने र त्यसपछि पहिरो चल्ने गरेको छ । यो पहिरोको रोकथामका लागि आवश्यक पहल नगर्ने हो भने पिउरे गाउँको अस्तित्व नै जोखिममा पर्नसक्ने खतरा रहँदै आएको छ । यो खोला रोङको अन्य खोलाभन्दा धेरै गहिरो भागबाट बग्ने गरेको छ भने यसका कारण खोलाको दुवैतर्फको किनारामा बिशाल भिरहरु बनेका छन् ।

अझ बिरिङको बाढीले चुरेको तल्लोक्षेत्रमा रहेको झापाको बिभिन्न मानव बस्ती र खेतीयोग्य जमिन क्षय हुँदै आएको छ । यसका मुख्य शाखाहरु सानो नेते र ठूलो नेतेको समेत उद्गमस्थल रोङ गाउँपालिकाभित्रै पर्ने भएकाले यी खोलाहरुले समेत स्थानीय, झटारे, खैरेनी, फर्सिबारी लगायतका स्थानमा कटान गरी खेतीयोग्य जमीन बगाउँदै आएका छन् भने पिउने पानीको स्रोत पुर्दै आएको छ । बिरिङ नदी नियन्त्रणका लागि यसको प्रत्यक्ष प्रभाबित क्षेत्रमा मात्र केन्द्रित हुँदा समस्या समाधान हुन नसकेको स्थानीय राजकुमार राईको अनुभव छ ।

रोङ गाउँपालिका वडा नम्बर ५ बाट बग्ने सुके निन्दा खोलाले हरेक वर्षामा बहुनवन, बेसीबजार क्षेत्रको सयौ बिगाह जमिन बगरमा परिणत गर्ने गरेको छ ।

सुर्योदय नगरपालिकाबाट वडा नम्बर ६ हुँदै बग्ने सिद्धि खोला पनि पछिल्लो समय रोङबासीको दुःखको रुपमा थपिएको छ । रोङको पूर्वी सिमानाको मेची र सिद्धि नदीको संगम स्थलभन्दा केहीमाथि रम्याङका स्थानीय बासिन्दा ३ वर्षबाट सिद्धिखोलाका कारण बेचैन छन् । रम्याङ पुछारबाट शुरु भएको पहिरो सिद्धि खोलासम्म पुगेपछि यहाँका १० घर विस्थापित भएका छन् । यो पहिरोको माथिल्लो भागमा रहेको खेतीयोग्य जमिन बर्सेनि भाँसिदै आएको र बस्ती नै बग्ने त्रास भएको स्थानीय शिक्षक गोविन्द पौडेलले बताए ।

नेपालकै पूर्वी सीमामा रहेको मेची नदीले समेत रोङ गाउँपालिका वडा नम्बर ६ मा कटान गर्ने गरेको छ । नदीको धार परिवर्तन हुँदा सलकपुर, पाटापुर, दुधेचौरीे लगायतका गाउँका तल्लो भाग कटानमा पदै आएका छन् । वडा नम्बर ६ कै धजे पहिरोले सलकपुर र रम्याङ दुबै गाउँलाई अप्ठ्यारोमा पार्दै आएको छ । दशकौँ अघि शुरु भएको यो पहिरोले आजसम्म स्थानीयलाई सास्ती दिँदै आएको छ । सलकपूर पुछारमा रहेको शंखे पहिरो र सिद्धिखोलाको कटानका कारण पर्यटकीय गाउँ सलकपुरमा बिभिन्न प्राकृतिक बिपत्ति समेत निम्तिदैँ आएको सलकपुरका कुमार मोक्तानले बताए ।

देशब्यापी रुपमा रहेको चुरे क्षेत्रको समस्या समाधन र चुरे क्षेत्र जोगाउनका लागि सरकारले समेत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तर्जुमा गरी लागु गर्दै आएको छ । तर, यो कार्यक्रमले रोङका प्रभावित स्थानहरुलाई भने छुन नसकेको गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताए । ‘चुरे क्षेत्र बचाउन तराईका नदीमा बाँध बाँध्ने भन्दा पनि समस्याको उद्गमस्थलमै चुरे क्षेत्रकै संरक्षण गर्न आवश्यक देखिएको छ’, राईले भने ।

के हो चुरे क्षेत्र ?

पूर्वमा भारतको ब्रम्हापुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू-परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड श्रृंखला हो ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७ ८ प्रतिशत जमिन चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ ।

सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरेको यही सम्वेदनशीलताका कारण यस क्षेत्रका बासिन्दाले बर्सेनि बिभिन्न किसिमका प्राकृतिक बिपत्ति बेहोर्दै आएका छन् ।

देशका चुरे क्षेत्रमा रहेका अन्य जिल्लाजस्तै इलाम जिल्ला पनि चुरेमा पर्दै आएको प्राकृतिक प्रकोपबाट अछुतो छैन । इलामको कुल क्षेत्रफलमध्ये ३८ हजार ९ सय ८२ दशमलव २० हेक्टर जमिन चुरे क्षेत्रमा रहेको छ भने लगभग त्यसको एकतिहाई भूभाग रोङ गाउँपालिकाले ओगटेको छ ।

साबिकका ४ गाबिसहरु शान्तिपुर, कोल्बुङ, इरौटार र जिर्मले मिलेर बनेको यस गाउँपालिकाको कुल गरेर १५ हजार ५ सय ६ हेक्टर क्षेत्रफल रहेको छ भने यसमध्ये ४ हजार ५ सय ४२ दशमलव २ हेक्टर जमिन चुरे क्षेत्रमा अवस्थित छ । यही संबेदनशील भू-खण्डमा बस्दै आएका रोङबासीले हरेक वर्ष बिभिन्न किसिमका प्राकृतिक बिपत्ति बेहोर्दै आएका छन् ।

खेतीकिसानी र पशुपालनलाई नै मुख्य पेशाका रुपमा अंगालेका यस क्षेत्रका बासिन्दाले बाढी, पहिरो लगायतका प्राकृतिक बिपत्तिको सामना गर्दै आएका छन् ।