चारआली। धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको सातौँ संस्करणमा भोलि हुने उद्घाटन खेलमा काँकरभिट्टा भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रान फुटबल क्लबबीच खेल हुनेछ ।

आयोजक धाइजन चारआली भेट्रान फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार भोलि नै पहिलो चरणका चार खेल हुनेछन् । जसमा दोस्रो खेल विराटनगरको सिएमजी स्वास्थ्य क्लब र कनकाई भेट्रान फुटबल क्लबबीच हुनेछ भने तेस्रो खेल बिर्तामोड भेट्रान फुटबल क्लबले धरमपुर भेट्रान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा भद्रपुर भेट्रान फुटबल क्लबले आयोजक धाइजन चारआली भेट्रान फुटबल क्लबसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नेछ ।

मेचीनगर नगरपालिकाको १२ र १३ नम्बरमा २०६९ सालमा स्थापित क्लबले बर्सेनि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको छ । भेट्रान फुटबल प्रतियोगिता निरन्तर सातौँ पटक आयोजना गर्ने सम्भवतः धाइजन चारआलीमात्र रहेको आयोजक क्लबका अध्यक्ष आशिष वनले दाबी गरेका छन् ।

फुटबल प्रतियोगितासँगै एकाडेमीका रुपमा साना भाइहरुलाई प्रशिक्षक राखेर तालिम दिइरहेको यस क्लबले बर्सेनि पूर्व फुटबलर एक जनालाई नगद तथा मोटरसाइकलसमेत प्रदान गर्दै आएको छ ।

अहिले पनि नियमित ३० जना १६ वर्षमुनिका खेलाडीलाई क्लबले प्रशिक्षण दिइरहेको छ । पूर्व खेलाडी पुर्ण सुब्बा, दिपक लामा र सन्तोष बस्नेतले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । क्लबमा करिब ७० जना जुनियर खेलाडीले नाम दर्ता गराएका छन् ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद ६१ हजार पाउनेछ । उक्त रकम बिर्तामोडको वन स्टप मलका सञ्चालक मिजास पोख्रेल र सानो संसार ल्याण्ड एन्ड हाउजिङका सञ्चालक रोशन प्रसाईले प्रायोजन गर्ने भएको छ । उपविजेताले ४१ हजार नगदसँगै ट्रफी पाउनेछ ।

क्लबका सचिव धनबहादुर तामाङले प्रतियोगिता सम्पन्न गर्नका लागि ८ लाख ३७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । नव कालिका खेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल ९ गते हुनेछ । जसमा ३८ वर्ष पूरा गरेका तीन जना र बाँकी ८ जना खेलाडी ४० वर्ष पूरा भएका खेलाडी हुनुपर्ने आयोजकल मापदण्ड बनाएको अध्यक्ष वनले बताए ।

यसैबीच, अष्ट्रेलियामा रहेका चारआलीका खेलप्रेमी अनिल सिवाकोटी, युएईमा रहेका भीम कार्की र क्यानाडामा रहेका श्याम कार्की डाँफे क्लबमार्फत सहयोगमा जुटेको जानकारी दिँदै अध्यक्ष वनले धन्यवाद दिएका छन् ।

आयोजकले पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिएको छ । यसवर्ष भेट्रान खेलाडी लक्ष्मीप्रसाद लिम्बू (लोचन)लाई नगद पुरस्कारले सम्मान गर्न लागेको छ । उनलाई नगद २ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गतवर्ष पूर्ण लिम्बूलाई एक थान मोटरसाइकल प्रदान गरिएको थियो ।