विनोद सापकोटा,

झापा । सांसद एलपी साँवा लिम्बुूे बाँकी रहेको तीन वर्षमा निर्वाचनताका मतदातालाई दिएको आश्वसन पूरा गर्ने दाबी गरेका छन् ।

बितेको दुई वर्षमा घोषणापत्रमा जारी गरिएका ६० प्रतिशत बाचा पूरा गरेको र बाँकी रहेको ३ वर्षमा ४० प्रतिशत विकास निर्माणका काम सम्पन्न गर्ने उनले दाबी गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा पुल, कल्भर्ट, सडक लगायतका पूर्वाधार ३ वर्षमा तयार भइसक्ने उनले दाबी गरेका छन् । सांसद साँवाले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदका लागि तत्कालीन एमालेबाट भारी मत ल्याएर विजयी बनेका थिए ।

जिल्लाको झापा गाउँपालिकामा गाउँ कार्यपालिका आफैँले आयोजना गरेको कार्यक्रममा शनिबार आयोजित मुस्लिम समुदायसँग भेटघाट र स्वागत कार्यक्रममा बोल्दै सांसद साँवाले अबको तीन वर्षमा कसैले सडक, पुल, कल्भर्ट नभएर हिँड्न समस्या भयो भनेर गुनासा गर्नु नपर्ने बताए । उनले भने, ‘झापा निर्वाचन क्षेत्र नम्बर ४ मा बाटो, पुल र कल्भर्टको समस्या रहँदैन ।’

खानेपानी, विद्युत् र सञ्चारको सुविधा गाउँ गाउँमा पुर्याउन आफूले काम थालेको पनि उनले बताए । ‘अब कुनै घरमा पनि पिउने पानीको समस्या हुँदैन, सबैका घर घरमा पानीको धारा र टेलिफोनका तार तीन वर्षमा पुग्नेछन्’, उनले थपे ।

सो कार्यक्रममा नेपालका लागि साउदी अरेवियाका राजदूत मुसिद सा. अल मारवानी र नेपालका लागि युएइका राजदूत सइद हम्दान अल नाक्बीको झापा गाउँपालिकाका मुस्लिम समुदायका नागरिकले भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा नेपालका लागि साउदी अरेवियाका राजदूत मुसिद सा. अल मारवानीले नेपाल र साउदी अरेवियाबीच सुमधुर सम्बन्ध रहेको बताए । उलने नेपाल जलश्रोतको धनी देश भएकैले पनि साउदी अरेवियाले ३० मिलियन अमेरिकी डलर अनुदान सहयोग गरेको बताए । ‘नेपालको जलविद्युत्, शिक्षा, स्वास्थ्यमा सहयोग गर्न साउदी अरेविया आतुर थियो’, उनले भने, ‘हामी नेपालसँग जहिल्यै पनि सुमधुर सम्बन्ध कायम रहेको हेर्न चाहन्छौँ ।’

युएईका राजदूत सइद हम्दान अल नाक्बीकले झापा गाउँपालिकामा उच्च शिक्षा हासिल गरेर बेरोजगार भइ बसेका मुस्लिम समुदायका युवायुवतीलाई नोकरीको अवसर दिन युएइ तयार रहेको बताए । उनले भने, ‘यहाँको शैक्षिक अवस्थालाई गुणात्मक हिसाबले बृद्धि गर्नुहोस्, रोजगारीको अवसर युएई सरकारले सिर्जना गर्नेछ ।’

झापा गाउँ कार्यपालिकाका अध्यक्ष जयनारायण साहाको अध्यक्षतामा भएको कार्यक्रममा हज कमिटीका पूर्व केन्द्रीय अध्यक्ष ताज महम्मद मियाँ, नेकपा निकट मुस्लिम संगठनका अध्यक्ष रिराज महम्मद फारुकी लगायतले मुस्लिम समुदायको शैक्षिक अवस्था सुधार्न सरकारले गम्भीररुपमा कदम चाल्नु पर्नेमा जोड दिए ।

झापा गाउँपालिकामा मुस्लिम समुदायका १७ हजार जनसंख्या रहे पनि २ जनाले स्नातकोत्तर, ८ जनाले स्नातक र १५ जनाले मात्र उच्च माध्यमिक तह उत्तीर्ण गरेको डिल्लीराज माविका शिक्षक वासेद अलीले जानकारी दिए ।