दमक । झापाको दमक-३ मा शनिबार भएको प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको फाइनल खेलमा कमल गाउँपालिका च्याम्पियन बन्दै उपाधि रक्षा गरेको छ ।

भुटानी शरणार्थी खेलाडीको टिम फ्यान्स क्लब अफ बीआरसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै कमल गापाले उपाधि रक्षा गरेको हो । मध्यान्तरअघि कमल गाउँपालिकाको खेलकुद विकास समितिका तर्फबाट विनोद गुरुङले गरेको एक गोल नै उपाधिका लागि निर्णायक बनेको आयोजक समितिका संयोजक कुमार गिरीले जानकारी दिए ।

उपाधिसंगै कमलले नगद ५० हजार ५ रुपैयाँ पुरस्कार राशिसहित ट्रफी हात पारेको छ । उपविजेता बीआरसीले नगद ३० हजार ५ रुपैयाँमा चित्त बुझायो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रदेश सभा सदस्य अर्जुन राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

दमक नगरपालिकाको संरक्षकत्व र वडा नं ३ को संयोजकत्वमा सञ्चालन भएको सो प्रतियोगिता असोज २९ गतेदेखि शुरु भएको थियो ।