बिर्तामोड। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धिको जिम्मा अब स्थानीय जनप्रतिनिधिको काधमा आइपुगेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिदै मन्त्री खतिवडाले स्थानीय माग र आवश्यकताको आधारमा आफ्नो तहलाई आत्मनिर्भर बनाउने दायित्व अब जनप्रतिनिधिकै रहेको भन्दै यसमा लागि पर्न सबै जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो ।

डाक्टर खतिवडाले आर्थिक विकास र समृद्धिका लागि सरकार विश्व समुदायको मन जित्ने प्रयासमा रहेको भन्दै नेपालको वित्तिय संघियतामा समेत विश्व समुदाय सन्तुष्ट रहेको दावी गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र संघिय सरकारका विचमा रहेको अधिकार सुचीको विवाद समेत आगामी चालु आर्थिक बर्षभित्रै समाधान भइसक्ने बताउनुभयो ।

उहाँले गरिबी निवारणको कार्यक्रमलाई उच्च प्राथमिकतामा दिन समेत स्थानीय र प्रदेश सरकारका प्रतिनिधिलाई निर्देशन समेत दिनुभयो । शीप पुजी र प्रविधिको प्रयोग मार्फत उत्पादन वढाउन अनुरोध गर्दै मन्त्री खतिवडाले स्थानीय सरकारको पहिलो प्राथमिकता गरिबी निवारणमै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकको समृद्धिका लागि गरिबीको अन्त्य पहिलो सर्त भएको भन्दै उहाँले कृषि उत्पादन वढाउनेगरिको भुउपयोग निति बनाउन र लागु गर्नपनि स्थानीय तहलाई निर्देशन दिनुभयो ।

यसैविच मन्त्री खतिवडाले सीमा क्षेत्रबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको अनुगमनका क्रममा मन्त्री खतिवडाले नेपालमा उत्पादित वस्तु भारत वा अन्य मुलुकबाट बिना भन्सार भित्रिदा त्यसको असर नेपाली उत्पादकलाई परेको भन्दै त्यसतर्फ गम्भिर हुन सवन्धित निकायलाई ध्यानआकर्षण गराउनुभएको हो ।

विभिन्न नाकाबाट हुने चोरी निकासी पैठारीलाई प्रज्ञापनपत्र मार्फत कारोवार गर्न व्यापारीलाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री खतिवडाको जोड थियो । पूर्वी नाकाबाट हुने चोरी पैठारीको नियन्त्रण हालसम्म सन्तोसजनक रहेको भन्दै यसलाई शुन्यमा झार्न सबै पक्ष एक भएर लाग्न समेत उहाँले अनुरोध गर्नुभयो ।

सो अवसरमा मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले कार्यालयबाट भएगरेका मुख्य मुख्य कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।