सुनसरी । प्रथम राजाबास गोल्डकप २०७६ आज बिहीबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा सुनसरीको न्यू स्टार फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

स्पर्धी डाँगीहाट फुटबल क्लब मोरंगलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै न्यू स्टारले अर्को चरणमा स्थान सुरक्षित गरेको हो । खेलमा न्यू स्टारका दिनेश राईले १०औँ र ५०औँ मिनेटमा गोल गरे भने विपिन पराजुलीले ४५औँ मिनेटमा थप गोल गरेका थिए ।

उद्घाटन खेलको म्यान अफ दी म्याच न्यू स्टारका खेलाडी दिनेश राई घोषित भए । उनले नगद ३ हजार पुरस्कार पाए । यो जीतसँगै न्यू स्टार फुटबल क्लब सुनसरी प्रथम राजाबास गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद १ लाख पाउँदा उपविजेताले नगद ५० हजार पाउनेछ । भोलि (शुक्रबार)को खेल कल्चरल ग्रीन क्लब चक्रघट्टी सुनसरी र बराहक्षेत्र फुटबल क्लबबीच हुनेछ ।