झापा । शुक्रबार देशका पहाडी भेगका केही ठाउँ बाहेक सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगमा भने सामान्य बादल लाग्ने सम्भावना भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार शनिबार हिमाली तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र सुुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । देशभरको न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको उहाँले बताउनुभयो । काठमाण्डौको बिहीबार बिहानको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने शुक्रबार पनि यतिकै हाराहारीमा रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

अरब सागरको पश्चिमी भागमा ‘क्यार’ नामाकरण गरिएको चक्रवात अवस्थित रहेको महाशाखाले जनाएको छ । चक्रवात पनि विस्तारै कमजोर हुँदै पश्चिमी-दक्षिणपश्चिमी दिशातर्फ बढिरहेको र यस चक्रवातको प्रभाव नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा न्यूनचापीय प्रणाली रहेको र अर्को न्यूनचापीय प्रणाली अरब सागरको दक्षिणपूर्वी भागमा विकसित भइरहेको जनाएको छ । यो पनि उत्तर-पश्चिमि दिशातर्फ बढिरहेकोले यसको प्रभाव नेपालमा खासै नपर्ने महाशाखाले जनाएको छ ।