झापा। बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीलाई थापिएको विद्युतीय धराप (इलेक्ट्री फेन्सिङ) मा परी शुक्रबार राति दुई जनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । रातिको समयमा वन कार्यालय छेउमा रहेको सानो खोल्सी खुकुरीले माछा मार्ने क्रममा स्थानीय १८ वर्षीय अभिनाश राई र अन्दाजी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको बताइएको छ । मनिराम पाहुनाका रुपमा अभिनाशको घरमा आएका हुन् । साइनोले उनीहरु मामा भान्जा हुन् ।

उनीहरुको माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु भएको उनका दाइ पेरिसकुमार राईले जानकारी दिए । हात्ती प्रभावित क्षेत्र भएकाले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यु भएता पनि विद्युत् प्रवाहका विषयमा आफूलाई जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले बताए ।