झापा । राष्ट्रिय फुटबल टोलीले म्यानमारविरुद्ध एक दशक भन्दा लामो समयपछि भेट्दा पनि विगतकै नजिताको निरन्तरता पाएको छ । म्यानमारसँग उसकै मैदानमा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको छ । सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि नेपाल म्यानमारसँग ३-० ले नै पराजित भएको थियो ।

आजको खेलमा पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा अर्को गोलको सामना गर्नुपरेको थियो । म्यानमारले तेस्रो मिनेटमै अग्रता लिएको थियो । म्यानमारले फ्रिकिकमार्फत पहिलो गोल गरेको थियो । झन्डै ३० यार्डबाट आएको फ्रिकिकलाई नेपाली खेलाडीले क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स नजिक अनमार्क रहेका खेलाडीले गोल गरेका थिए ।

दोस्रो गोलमा पनि डिफेन्सकै कमजोरी रह्यो । म्यानमारका फरवार्डले तीन डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काएर गरेको प्रहार गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । तर रिबाउन्डमा डिफेन्स चनाखो नहुँदा म्यानमारको अग्रता दोब्बर भयो ।

दोस्रो हाफमा खेलमा फर्कने नेपालको पटक पटकको प्रयास असफल मात्र भएन अर्को एक गोलको सामना गर्नुपर्यो । विश्व कप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।