बिर्तामोड । उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबले पाहुना टोली सिक्किम आक्रमण एफसी भारतसँग यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल खेल्दैछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ः३० बजे हुने प्रतियोगितामा फाइनल यात्राका लागि यी दुई टोलीबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा लिइएको छ ।

उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लब र क्वाटरफाइनल खेलमा बेलबारी एफसीमाथि सम्झनलायक प्रदर्शनबाट जीत दर्ता गरेको सिक्किम आक्रमणलाई झापाली दर्शकको समर्थन छ ।

बाइ पाएर सिधै क्वाटरफाइनल खेलेको आर्मी आफ्ना नियमित कप्तान र खेलाडीबिनै मैदान उत्रिए पनि विभागी टोलीको दबदबालाई कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको हो । तेस्रो क्वाटरफाइनलमा भारतकै पाहुना टोली मोलवे एफसी असामलाई पराजित गरेर अन्तिम चारमा आर्मीले स्थान सुरक्षित गरेको हो ।

दोस्रो पटक पाहुना टोलीसँग प्रतिस्पर्धामा उत्रिने आर्मीले आजको खेलमा जीत निकालेको खण्डमा उपाधि नजिक पुग्नेछ । त्यस्तै, दुई वटा नेपाली टिमसँग भिडेर अनुभव बटुलेको सिक्किम आक्रमणका खेलाडीले पहिलोपल्ट विभागीय टोलीसँग आमने सामने हुँदैछ । सम्झनलायक प्रदर्शन गर्दै आएको सिक्किमलाई झापाली दर्शकको साथले खेलाडीको मनोबल उच्च रहने विश्वास लिइएको छ ।

१० टिम सहभागी गोल्डकपमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडले भोलि शनिबार अन्तिम सेमिफाइनल खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।