सुनसरी । पूर्वली फुटबलमा आफ्नो विशेष पहिचान बनाईसकेका गोलरक्षक किशोर गिरीले आफ्नो जन्मदिनकै अवसरमा युवा फुटबल खेलाडी प्रज्वल राईलाई आर्थिक सहयोग गरेका छन् ।

मंगलबार आफ्नो जन्मदिन मनाएका गिरीले सोही दिन राईलाई १० हजार आर्थिक सहयोग समेत गरे । राई हाल धरानस्थित विपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्समा आफ्नो मेरुदण्डको शल्यक्रियाको पर्खाइमा छन् ।

गोलनेपालका अनुसार फेयर एफसी, धरानबाट स्थानीय फुटबल खेल्ने क्रममा राई चोटिल बन्न पुगेका थिए । आर्थिक अवस्था निकै कमजोर रहेको राईले आफ्नो उपचारका लागि सबै फुटबल खेलाडी, समर्थकहरुलाई सहयोगको अपिल गरेका थिए ।

त्यसैक्रममा गोलनेपाल फाउण्डेशनले राईको उपचारका लागि सहयोग अभियान शुरु गरेको थियो । सोही अभियानलाई सार्थक तुल्याउन गोलरक्षक गिरीले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्न अगाडी सरेका हुन् ।

सहयोग गरेपछि गिरीले फुटबल खेलाडीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । गिरी भन्छन्, “थोरै भए पनि प्रज्वल भाईलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ । एउटा फुटबल खेलाडीको पिडा अर्को फुटबल खेलाडीले नबुझे कसले बुझ्ने रु” साथै गिरीले प्रज्वल राईको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

यसैगरी, त्रिभुवन आर्मी क्लबका खेलाडी टंक बस्नेतले पनि राईलाई नगद १० हजार सहयोग प्रदान गरेका छन् । स्मरण रहोस, गोलनेपालले चलाएको यो अभियानमा हालसम्म राईको उपचारका लागि २ लाख २५ हजार ५५ रुपैयाँ आर्थिक सहयोग संकलन भईसकेको छ ।