काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो ।

आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो ।

वर्कसपको दोस्रो दिन बुधबार फिचर लेखनबाट खेल पत्रकार हिमेशरत्न बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै एन्टी डोपिङको बिषयमा सरोजकृष्ण श्रेष्ठ, ओलम्पिक भूमिकाबारे सुजनलाल श्रेष्ठ, ठुला खेल उत्सवको रिपोर्टिङबारे सबानायकन, पत्रकारिताको सिद्वान्त र खेल रिपोर्टिङबारे ऋषिकेश दाहाल र पत्रकारितामा कपी राईटबारे आरके रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।

आसन्न साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ । सोही प्रतियोगिताको रिपोर्टिङ र समाचार लेखनलाई प्रभावकारी बनाउने उद्देश्यले वर्कसपको आयोजना गरिएको हो । वर्कसपमा देशभरका १३ जिल्लाबाट करिब १ सय ४० प्रशिक्षार्थी सहभागी थिए ।