सुनसरी । विद्यालयको प्रवेशद्वारमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । धरान-१८ स्थित दिल्ली पब्लिक स्कुलको प्रवेशद्वारमा गत भदौ २० को राति भएको बम विस्फोटको घटनामा संलग्नताको आरोपित मोहन बस्नेत, सागर राई र सुरेशकुमार राई पक्राउ परेका हुन् ।

नेत्रविक्रम चन्द समूहको बस्नेत सुनसरी सेक्रेटरी, सागर युवा संगठन सुनसरी संयोजक र सुरेश जिल्ला सदस्य रहेको खुलेको छ । उनीहरू फरार रहेका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक आवासीय क्षेत्रभित्र रहेको उक्त स्कुलको गेटमा विस्फोटको घटना भएपछि प्रहरीले तीनै जनाको खोजी गरिरहेको थियो ।

दुहबी-८ का बस्नेतलाई इटहरीबाट, भोजपुर ट्याम्के मैयुम २ घर भई हाल धरान-११ बस्दै आएका सागर र धरान-११ बस्ने सुरेशलाई सुनसरीको रामधुनी ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बम विस्फोट मुद्दामा तीनै जनालाई जिल्ला अदालतबाट बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।