झापा । हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र झापाको अर्जुनधारा जलेश्वरधाममा सोमबार किरात धर्मावलम्वीको आस्थाका केन्द्र किरात गुरु आत्मानन्द लिङ्देनको आगमन भएको छ ।

हिन्दुहरुको धार्मिक तीर्थस्थल र पूर्वका पशुपतिनाथले परिचित झापाको अर्जुनधारा-७ मा रहेको अर्जुनधारा जलेश्वरधाममा किरात गुरुको आगमनसँगै दृश्य भने फरक किसिमको पाइएको थियो ।

धामको ३७औं वार्षिक अनुष्ठानकोरुपमा शुरु हुने वामन पुराणमा सहभागी हुन किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्राहाङमा लिङदेन आएपछि धार्मिक माहोल फरक हुन पुग्यो ।

किरात धर्मगुरुका अनुयायी, भक्तजनहरुको बाक्लो उपस्थितिका बीच आयोजक धाम व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले धार्मिक सहिष्णुता कायमसँगै एक अर्काको अस्तित्व स्वीकार गरेको सन्देश प्रवाह गर्ने उद्देश्यले धाममा यसपटक किरात धर्मगुरुलाई निमन्त्रणा गरिएको धारणा राखे ।

१ नम्बर प्रदेश किरातहरुको थलो भएको दाबी गरेका पूर्वमन्त्री बुढाथोकीले धाममा हिन्दुहरुको मात्र नभई किरातीको पनि हक लाग्ने भन्दै धाममा उनीहरुको लागि पनि खुल्ला रहेको उल्लेख गरे ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागी विश्वकी प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराजले धर्म शास्त्रमा उल्लेख भएअनुसार नेपाल किरातहरुको देश भएको दाबी गरिन् । किरातहरु भगवान शिवको सन्ततिहरु भएको दाबी गरिन् । धाम परिसरमा किरात धर्मगुरु र गुरुआमाको आगमनले आफूलाई भगवान शिवको उपस्थिति भएको महसुस हुँदा कार्यक्रम गौरवशाली भएको उनले प्रतिक्रिया दिइन् ।

कार्यक्रमका प्रम्ुख अतिथि प्रदेश १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले किरातहरुको धार्मिक तीर्थस्थल लारुम्बाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रम अन्र्तगत आर्शिवचन दिने क्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले सबै धर्मका मानिसहरु एक भइ धार्मिक सहिष्णु्ता कायम गरेर विश्व शान्तिको लागि अगाडि बढ्नुपर्ने बताए । उनले पृथ्वीको आयु करिब–करिब सकिन लागेको विज्ञानले पनि पुष्टि गरेको अवस्थामा पृथ्वीको आयु बढाउन धर्मबाट मात्र सम्भव भएको दाबी गरे ।

सोही अवसरमा धामको स्तरोन्नतिको लागि किरात धर्मगुरुको तर्फबाट एक लाख ५० हजार सहयोग रकम धाम समितिलाई उपलब्ध गराइएको थियो । समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा पवनकुमार अग्रवालले ५१ हजार रुपैयाँ प्रदान गर्दै गल्ला उद्घाटन, छविलाल शिवाकोटी र धनपति चिमरियाले धान्याचल उद्घाटन र पूर्व मन्त्री बुढाथोकीले यज्ञशालाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्ष नवराम ढुंगानालगायतको आतिथ्यता रहेको थियो ।

धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले धामको विगत, वर्तमान र भावी योजनाबारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले र कार्यक्रमको सञ्चालन सञ्चालकद्धय उर्मिला दाहाल र स्वस्तिका आचार्यले गरेका थिए ।