प्रकाश नेपाल,
इलाम । घुमघामका लागि मौसमको अनुकूल भएसँगै इलाममा पर्यटकको चहलपहल बढेको छ । जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका स्थलहरु आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेका हुन् ।

मौसमको साथपछि जिल्लाका पर्यटकीयस्थलहरु चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, सूर्योदयको दृश्यावलोकनका श्रीअन्तुमा यतिबेला पर्यटकहरुले भरिभराउ देखिन्छन् ।

यसरी आउने पर्यटकहरुमा नेपालभित्रकै आन्तरिकदेखि भारतीयका साथै पश्चिमा मुलुकका समेत छन् । यसपटक छिट्टै मौसम खुलेकाले हिमशृङ्खलासँगै सूर्योदय दृष्यावलोकन साथै हरियाली चियाबगान अवलोकन गर्न पर्यटकहरु आएका हुन् । घुम्न आउने पर्यटकका साथै कन्याममा वनभोज खान आउने विद्यार्थी तथा आगन्तुकहरुको संख्या बढ्न थालेको छ ।

इलाममा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको पर्यटन सूचना केन्द जोरकलसका सूचना अधिकारी गगन घिमिरले जानकारी दिए ।

पहाडकी रानी इलाम भित्रपनि त्यस्ता धेरै पर्यटकीय गन्तव्यहरु रहेका छन् । ती मध्ये सुदूर पूर्वी इलामको श्रीअन्तुमा पर्यटकको चहलपहल बढेको छ । निकै मनोरम दृश्य देखिने अन्तु डाँडामा सूर्योदय र सूर्यास्तको अवलोकनको घुइँचो देखिन्छ ।

यस्तै कन्काई माईको उद्गमस्थल जिल्लाकै अग्लो भूभाग तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरमा तथा जिल्लाका विभिन्न क्षेत्रमा फैलिएका चियाबगानको अवलोकन पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

इलाममा धरै पर्यटकीय स्थल रहे पनि चिया बगानको अवलोकनले मनै लोभ्याउने पर्यटकहरुको भनाइ छ । पर्यटक आउन थालेपछि वर्षायाममा बन्द रहेका होटलहरु पनि खुलिसकेका छन् । इलामका महत्वपूर्ण स्थानको अवलोकनमा आउनेको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको इमेज खबरमा समाचार छ ।