काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो अन्तिम दिन सोमबारसम्म २७८ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाललाई खेल इतिहासकै ठूलो सफलता मिलेको छ ।

सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण जितिसकेको छ । अझ स्वर्ण थपिने संभावना कायमै छ । विशेषगरी सागको अन्तिम दिन हुने फुटबलमा नेपालले जित्दै ५० स्वर्ण पुग्ने अनुमान गरिएको छ ।

किनभने, भुटान नेपालभन्दा कमजोर टिम हो । समूह चरणमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै फाइनल आइपुगेको भुटानलाई डिफेन्डिङ च्याम्पियन नेपालले हराउँदै स्वर्ण संख्या बढाउने तयारीमा छ ।

नेपालले स्वर्ण संख्या पाँच नपु(याउँदा समेत फुटबलमा स्वर्ण जितेको इतिहास छ । यसपटक भने नेपालले ४९ स्वर्णसहित १८३ पदक जितिसकेकाले खेल इतिहासमै ठूलो सफलताका रुपमा व्याख्या गरिएको छ ।

सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको कीर्तिमान सच्याउँदै अगाडि बढेको नेपालका लागि खेलाडीहरुले व्यक्तिगतरुपमा समेत थुप्रै कीर्तिमान बनाएका छन् । सागको अंक तालिकामा नेपाले ४९ स्वर्ण, ५१ रजत र ८३ काँस्य सहित दोस्रो स्थानमा छ ।

१४३ स्वर्णसहित २६९ पदक जितेको भारत शीर्ष स्थानमा छ भने ३६ स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ । ३० स्वर्णसहित पाकिस्तान चौथों, १९ बंगलादेश पाँचौं र एक स्वर्ण जितेको माल्दिभ्स छैटौं स्थानमा छ । ५ रजत र १३ काँस्य जितेको भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।