अर्जुनधारा । नेकपा नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासको तरिका पढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाले आज (आइतवार) आयोजना गरेको नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिको वडास्तरीय समितिका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

‘हामी आन्दोलन गरेर सत्तामा पुग्यौँ, मलाई मन्त्री हुँदा नजानेको कुरा के छ र जस्तो लाग्थ्यो’, पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘एउटा सुरुङ बनाउनु पर्यो भने पनि हामीसँग इन्जिनियर नै रहेनछ, हामी पार्टीका नेताले पनि विकास कसरी गर्ने भन्ने जानेका नै रहेनछौं, त्यसैले स्थानीय तहका जनप्रतिनिधिलाई मेरो अनुरोध छ, विकास कसरी गर्ने भन्ने अध्ययन गर्नुहोस् ।’

नेकपा स्थायी समितिका सदस्य पाण्डेले किसानका उत्पादनलाई कसरी राम्रो बजार पहुँच दिलाउने भन्ने विषयमा स्थानीय तहले कार्यक्रम बनाउनु पर्ने बताएका छन् । उनले देश आर्थिकरुपमा सवल नभई भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा गर्न नसक्ने बताए ।

‘यहाँ प्रहरीको तलव २५ हजार रुपैयाँ छ, खाडी गयो भने सेक्युरिटी गार्डले एक लाख रुपैयाँ कमाउँछ, अनि कसरी योग्य जनशक्तिलाई देश विकासमा लगाउन सकिन्छ र !’, पाण्डेले भने, ‘चीनले विदेशमा रहेका नागरिकलाई देश बोलाएर आकर्षक तलब दिएर देश विकास गर्यो, त्योबाट हामीले सिक्न जरुरी छ । कसैसँग राष्ट्रियताको लडाईं लड्नु पर्यो भने पनि हतियार किन्न पैसा नै चाहिन्छ ।’

शिक्षित जनशक्तिको अभाव सुरु भएको बताउँदै नेता पाण्डेले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाले मासिक साढे चार करोड रुपैयाँ कमाउने गरेको प्रसंग सुनाए । उनले भने, ‘प्लटिङमा लगानी गरेर होइन, छोराछोरीलाई राम्रो शिक्षा दिएर सम्पन्न बनाउन सकिन्छ ।’

नेता पाण्डेले नेताका भाषण होइन, सर्वसाधारणका उन्नतिका समाचार बनाउन पत्रकारलाई आग्रह गरे ।

कार्यक्रममा मेयर हरिकुमार रानाले विषयगत समितिका वडास्तरीय समितिका पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए ।

औचित्यमाथि उपमेयर कमला खतिवडा आचार्यले प्रकाश पारेको कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिएको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।