धनकुटा । शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको आयव्यय सार्वजनिक भएको छ। गत वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको ७ महिनापछि आयव्यय सार्वजनिक भएको हो।

प्रतियोगिता सञ्चालन गर्दा २३ लाख १६ हजार चार सय ६ रुपैयाँ आम्दानी भएकोमा २२ लाख ७७ हजार पाँच सय ५८ खर्च भएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि संकलित रकम संकलन हुन दुई-तीन महिना लागेकाले सार्वजनिक गर्न ढिलो भएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।

उनले प्रतियोगिताको आयव्यय पहिलोपटक सार्वजनिक रुपमा गरिएको बताए। शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता २०५५ सालबाट हरेक वर्ष धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुँदै आएको छ। वडास्तरीय प्रतियोगिताबाट सुरु भएको प्रतियोगितामा हाल ‘ए’ डिभिजन लिगका टिमहरूसहित भारत, भुटान, नाइजेरियन टिमहरू सहभागी हुँदै आएको शहीद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए।

उनले आगामी चैत दोस्रो हप्ता १५ औँ संस्करणको प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहको जानकारी दिए। २०५५ सालमा धनकुटाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको प्रतियोगिताको संस्थापक अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए।

तत्कालीन धनकुटा नगरपालिका-६ का अध्यक्षसमेत रहेका श्रेष्ठले वडाबाट १० हजार बजेट विनियोजन गरेर प्रतियोगिता सुरु गरिएको जानकारी दिए। धनकुटामा खेलाडी नभएर सुरु गरिएको प्रतियोगिताका कारण हाल आएर धनकुटाका दुईजना खेलाडी राष्ट्रिय टिमको कप्तान हुनु भीमनारायण गोल्डकप प्रमुख कारण रहेकामा गर्व लागेको बताए।

विसं १९९४ साल असार २४ गते धनकुटामा जन्मिएका शहीद भीमनारायण श्रेष्ठलाई २०३० सालमा विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा २०३५ साल माघ २६ गते सुनसरीको कोशी टप्पु नजिकैको किनारमा मृत्युदण्ड दिएको थियो।