पाँचथर । भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सानादेखि गौरबका आयोजना व्यवस्थित रुपमा सञ्चालन गर्न नीतिगत सुधारको आवश्यकता रहेका बताउँदै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनुभएको छ ।

मन्त्री नेम्बाङले त्यसको लागि सार्वजनिक खरिद तथा बिक्री नियमावली नवौं निमावली संशोधन गरिएको बताउनुभएको छ ।

भौतिक निर्माण तथा यातायात मन्त्री नेम्बाङले आज बिहान पाँचथरको फिदिममा पत्रकार भेटघाट कार्यक्रम तथा कार्यकता भेलामा सो कुरा बताउनुभयो । यहाँ पुर्वी पहाडी क्षेत्रमा सञ्चालित साना तथा राष्ट्रिय गौरबका योजनामा भएको ढिलासुस्ती हटाउन यस क्षेत्रका योजनाहरुको अनुगमन गर्न आफुहरु यहाँ आएको बताउनुभयो ।

मन्त्री नेम्बाङले चालकको लागि स्मार्ट लाईसेन्स छपाईको कार्य धमाधम भइरहेकोले चाँडै नै सो समस्या हल हुने बताउनुभयो । उहाँले काठमाडौंको सडकमा देखिएको खाल्डाखुल्डीका समस्या समाधान गर्ने कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक निर्माण तथा यातायात सचिव देबेन्द्र कार्की, भौतिक निमार्ण तथा यातायात बिभागका महानिर्देशक केशबकुमार शर्मालगायतको टोलीले तीन दिनसम्म यस क्षेत्रका मध्यपहाडी लोकमार्ग, तमोर करिडर, रबि राँके भेडेटारसहितका बिभिन्न सडक तथा अन्य आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी दिइयो ।