काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौ चरणको खेलमा झगडा गर्ने मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबका खेलाडीलाई के कारबाही भयो ? अहिलेसम्मकै चासोको विषय अब सकिएको छ ।

मनाङ र मच्छिन्द्रबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबलसंघले ६ खेलाडीलाई कारवाही गरेको छ ।एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारी गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल तथा अन्य ४ खेलाडीलाई २-२ खेल प्रतिबन्ध लगाएको जनाएको छ ।

जगजित र अशोकले जनही १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । मनाङका रंजन विष्टलाई पनि २ खेल प्रतिबन्ध लगाइएको छ ।

यता मछिन्द्रबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले पनि २-२ खेल प्रतिबन्ध भोग्नेछन् । मनाङका अफिसियल शिव लामाले भने लिग अवधिबर प्रतिबन्ध भोग्दै १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । एन्फाले दुवै क्लबलाई ५०-५० हजार जरिवाना समेत गराएको छ ।

लिगअन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दावेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा थियो । र रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि । तर फाइनल व्हिसल बजेलगत्तै रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपास हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिएका थिए ।

दुवै टोलीले अग्रता लिएर पनि २-२ मा सकिएको खेलको रोमान्च एकाएक तनावको स्थितिमा पुग्यो । मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केही अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहीले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो ।

राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लियो ।

जगजितले पुन: दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर त्यसबेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केही अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो । मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।

यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही गरेको हो ।