अर्जुनधारा । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जनताबाट हुने आलोचनासँग जनप्रतिनिधिले डराउन नहुने बताएका छन् ।

अर्जुनधारा नगरपालिकाको छैटौ नगरसभाको आइतबार उद्घाटनका क्रममा महान्यायाधिवक्ता खरेलले जनताको आलोचनाबाट डराउनुभन्दा आलोचना हुनै नदिनुमा जनप्रतिनिधि लाग्नुपर्ने बताए । जनप्रतिनिधिले काम गर्दा आत्मकेन्द्रित नहुन आग्रह गर्दै उनले बाटो बनाउँदा आफ्नोतिर नभइ जनताको घरतर्फ जाने बनाउनुपर्ने सुझाव दिए ।

उनले भने, ‘जनताको घर जाने बाटो बनाइयो भने गाली कम खाइन्छ, जनताको हितमा काम पनि हुन्छ ।’ देखिनेगरी काम गर्नुपर्नेमा जोड दिएका उनले मृत्युपछि लगेर जाने वस्तु केही नहुने भएकाले राम्रो काम गर्नुको विकल्प नभएको बताए ।

मन्तव्यका क्रममा अधिकांश समय संविधान र कानुनका विषयमा बोलेका उनले स्थानीय तहले आफ्ना मुद्दा आफैँ हेर्नुपर्ने पनि बताए । महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलले स्थानीय तहको मुद्दा नहेर्ने पनि स्पष्ट पारे ।

बरु स्थानीय तहमा आइपर्ने मुद्दा हेर्न एक जना वकिल नियुक्त गर्न सकिने सुझाव उनको थियो । वकिल नियुक्त गर्दा स्थानीय तहको कानुन निर्माणमा सहयोग पुग्नेमात्र नभइ संघीय लोकतन्त्र गणतन्त्रसँगै स्थानीय तह पनि बलियो हुने उनको तर्क छ ।

मुलुकका सबै नागरिक कानुनमा बाँधिएपछि मात्र सुशासन लागु हुनसक्ने बताएका उनले आफैँले हस्ताक्षर गरेर निर्माण गरेको संविधानमा पनि केही त्रुटि भएको स्वीकार्दै तर संविधान राम्रो भएको जिकिर गरे । ‘बनेको राम्रो संविधान कार्यान्वयनमा भने चुनौती छ’, उनले भने ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षतामा सुरु छैटौ अधिवेशन भोलि (सोमबार)देखि निरन्तर चल्ने बताइएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललगायतको आतिथ्यता रहेको थियो । नगरसभाको उद्घाटन अर्जुनधारा १ स्थित हात्ती आहालमा भएको थियो ।