काठमाडौं । उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ ।

दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १-० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो । यो हारले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारले गुमाएको छ ।

६ खेलमा टोलीको खातामा १० अंक छ । यसअघि टोली त्रिभुवन आर्मी क्लबसँग २-० ले निराश भएको थियो । ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । ६ खेलमा फ्रेन्ड्सको ५ अंक पुगेको छ ।

यसैबीच, आजै भएको दोस्रो खेलबाट सरस्वती युथ क्लबले लिगमा पहिलो अंक जोडेको छ ।

आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पुगेर पहिलो अंक जोडेको हो ।