काठमाण्डौ । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ ।

आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दिउँसो ३ बजेपछि सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ ।

यसअघि यी दुईबीचको खेलमा दशरथ रङ्गशालामा हुने तय भएको थियो । लगातार वर्षाका कारण खेल मैदान नै सार्नु परेको एन्फाले जनाएको छ ।

मच्छिन्द्र आजको खेल जित्दै तालिकामा अग्रता बढाउने प्रयासमा हुनेछ भने शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अङ्क बटुल्ने प्रयासमा हुने छ ।

मच्छिन्द्रले जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ खेलमध्ये २ खेलमा हार र चार खेलमा बराबरी गरेको छ ।