यासोक । पाँचथरका स्थानीय पालिकाबीच भएको तेस्रो कुम्मायक गोल्डकप २०७६ को उपाधि कुम्मायक गाउँपालिकाले चुमेको छ ।

स्थानीय पृथ्वी माविको खेलमैदानमा सोमबार भएको फाइनल भिडन्तमा मिक्लाजुङ गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक कुम्मायक गोल्डकपको च्याम्पियन बनेको हो ।

फाइनल भिडन्तमा खेलको २ मिनेटमै कुम्मायकका खेसेहाङ लावतीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै २८औँ मिनेटमा सुनिल सम्बाहाम्फेले गोल गर्दै कुम्मायकका लागि अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको १५औँ मिनेटमा दिपेश बर्देवाले मिक्लाजुङका लागि गोल गरेर खेलमा फर्कने प्रयास गरेका थिए । तर, खेलको इन्जुरी समयमा कुम्मायक गाउँपालिकाका लोकेन्द्र थापाले सम्झनलायक गोल गर्दै फराकिलो गोलअन्तरबाट आयोजकलाई उपाधि दिलाउन सफल बने ।

खेलको म्यान अफ दी टुर्नामेन्ट कुम्मायकका दिनेश शर्मा घोषितहुँदै नगद १५ हजार पाउन सफल भए भने बेस्ट गोलकिपर पनि कुम्मायककै पाङगाम लावती घोषित भए । त्यस्तै, कुम्मायकका हेमन्त दर्नाल बेस्ट मिडफिल्ड, हाइ स्कोरर अभिषेक लिम्बू र राइजिङ स्टार लोकेन्द्र थापा घोषितहुँदै जनही ५–५ हजार पाउन सफल भए । फाइनल खेलको म्यान अफ दी म्याच आयोजककै दिप्सन लावतीले नगद ३ हजार पाए ।

उपविजेता बनेको मिक्लाजुङ गाउँपालिकाका बासुदेव राई बेस्ट डिफेन्स र दिपेश बर्देवा बेस्ट फरवार्ड घोषित भए । उनीहरुले पनि जनही नगद ५–५ हजार पाए ।

कुम्मायक स्पोर्टिङ क्लब यासोकले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहिछ ट्रफी पायो भने उपविजेता मिक्लाजुङ गाउँपालिकाले नगद ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।