रोहित काफ्ले,
झापा । झापाको अर्जुनधारा-२ मा रहेको ‘सहकाले झरना’ अहिलेसम्म पहिचान भएमध्येको एउटा नयाँ पर्यटकीय गन्तव्य हो । यो झरना ५० फिट अग्लो छ । बिर्तामोडबाट करिव २० किलोमिटर र अर्जुनधारा जलेश्वारधामदेखि १४ किलोमिटर उत्तरमा इलामसँगको सीमामा रहेको सुन्दर पहाडी भूगोलमा सहकाले झरना छ ।

पर्यटकका लागि आकर्षण बन्ने भएको हुँदा अर्जुनधारा नगरपालिकाले सो क्षेत्रलाई नयाँ पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेल बताउनुभयो ।

उहाँले सहकाले झरना नजिकको साठिमुरे डाँडोमा श्रीकृष्णको ठूलो मन्दिर र होमस्टे लगायतका संरचना बनाउने नगरको योजना भएको बताउनुभयो ।

इलामको रोङ गाउँपालिका, माई नगरपालिका, सूर्योदय नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकाको सीमासँग जोडिएको उक्त सहकाले क्षेत्र एकदम सुन्दर, रमणीय र आकर्षक गन्तव्य रहेको अर्जुनधारा नगरका प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।

यहाँको सहकाले बस्तीदेखि एक किलोमिटर दुरी टाढा पहाडको टुप्पाबाट छङ्छङ् झर्ने झरनालाई नै सहकाले झरना भनिएको हो । झरनाको पानी टाङटिङ खोलामा बगेर मिसिन्छल । झरनाको फेदमा झरेको पानीमा तिते, असला प्रजातिका माछा पाइने गरेको छ ।

सहकाले झरना नजिक पर्यटकका लागि अर्को आकर्षक ठाउँ भनेको त्यहाँ रहेको गुफा हो । नयाँ ठाउँ भएकाले हालसम्म त्यति धेरै बाह्य पर्यटक यहाँ पुगेका छैनन् । गुफाको विस्तृत अध्ययन हुन बाँकी नै छ ।

त्यस्तै गर्मीमा झनै चिसो हुने ठाउँ भएकाले त्यहाँ मस्याङ्को दाल, टमाटर, सुपारी, अदुवा लगायतका कृषि वस्तु उत्पादन हुने गरेको छ । अर्जुनधाराको विकट गाउँ मानिएको उक्त क्षेत्रमा विद्युत विस्तार भने भएको छैन् । सहकाले बजार विस्तार हुन सकेको छैन् । बजारमा अर्गानिक खानेकुरा पाइन्छ ।

सहकाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन र आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो बढाउन अावश्यक देखिएको छ ।