गएको पुस १६ गतेदेखि देशैभर विभिन्न कार्यक्रम गरी नेपाल भ्रमण वर्ष २०२० मनाइँदैछ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको झापाको अर्जुनधारा नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष मनाउने तयारी गरेको छ । यसै विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलसँग गरिएको कुराकानीको अंश :

अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई कसरी मनाउने तयारी गरेको छ ?
नगरपालिकाका तर्फबाट भव्यतापूर्वक आन्तरिक पर्यटनको विकास होस् भनेर कोशिस गरेका छौँ । पर्यटन वर्षलाई लक्षित गरेर चैत महिनामा अर्जुनधारा महोत्सव आयोजना गर्ने निधो गरेका छौँ ।

यही माघ २४ गतेदेखि प्रत्येक वार्डमा विभिन्न कार्यक्रम लगेर जाने भएका छौँ । मेयर साबले वार्डमा हेल्थ क्याम्प, विद्यार्थीलाई ओरिएन्टेशन, भिजिट नेपाल २०२० लेखिएको बेलुन, व्यानरजस्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भनिएको छ ।

यस नगरमा पर्यटकीय स्थलहरु के के छन् त ?
धेरै ठाउँ छन् अर्जुनधारामा । धेरै पर्यटकीयस्थल रहेको नगरपालिका अर्जुनधारा हो । पर्यटनको सम्भावना बोकेको नगर पनि हो, अर्जुनधारा । यहाँ पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम छ । त्यस्तै, शंकराचार्य विद्या पीठ साधुटारमा छ, त्यहाँदेखि अलिक माथि हात्ती आहाल भन्ने रमणीय स्थान छ ।

केही माथि सहकाले भन्ने रमणीय स्थान छ । जुन झापाकै लामो झरना भएको ठाउँ हो, सहकाले । यहाँ विभिन्न मठमन्दिर रहेका छन् । महाभारतकालीन पृष्ठभूमिसँग जोडिएको नगरपालिका हो । पाण्डवहरुले विराटपोखरबाट माटो ल्याएर थुपारेको पाण्डपपुर भन्ने ठाउँ छ । उनीहरुले साधुटारमा हातहतियार लुकाएको रुख अहिले पनि छ ।

यहाँ अत्यधिक पर्यटकीयस्थल छन् । सालबारीमा झिल छ, सहादत प्राप्त गरेका सुखानी सहिदहरुको प्रतिमा छन् । त्यस्तै, झापा र इलामको सिमानामा सहादत स्थल पनि छ ।

संसारमा नपाइने जातको कछुवा सालबारीमै संरक्षण गरिएको ठाउँ छ । कछुवाको अध्ययन गर्न आउने पर्यटकका लागि महत्वपूर्ण हुनसक्छ । त्यस्तै, साकम्बरी, जलकन्या मन्दिर, जेठो गुम्बा, हलुवागढ सिमसार, जुकेखाडी, कैदले वन, किरात माङहिम रहेका छन् । यसले वान डे भिजिटर्सका लागि उपयुक्त हुनसक्छ ।

कार्यक्रमका लागि प्रचारप्रसार कस्तो छ ?
हामीले भर्खरै सुरुवात गरेका छौँ । वार्डबाटै प्रसारका लागि कार्यक्रम लगिने तयारी छ । आफूले आफैँलाई चिनाएर अरुलाई चिनाऔँ भन्ने हेतुले आफ्ना क्षेत्रमा माघ २४ गतेदेखि कार्यक्रम गरिँदैछ ।

विभिन्न चेतनामुलक कार्यक्रम वार्डमा सञ्चालन गरिँदैछ । आफ्ना ठाउँमा भएका धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको पहिचान गर्नका लागि कार्यक्रम गरिन लागेको हो । बढीभन्दा बढीलाई आकर्षित गराऔँ, पर्यटनका लागि आवश्यक विभिन्न विषयमा सचेतना दिलाएर पर्यटकको अपेक्षाअनुसार व्यवहार दिन सकून् भनेर त्यसका लागि तालिम दिनेछौँ ।

वार्ड, टोल र बस्तीमा गएर हाम्रा पर्यटकीय क्षेत्रको पहिचान गरी जनतालाई पर्यटकीय दृष्टिकोणबाट सोच्न सक्ने बनाउने हाम्रो लक्ष्य रहेको छ ।

बाहिरका पर्यटकलाई यहाँ आउन नगरपालिकाको सन्देश के रहन्छ ?
अर्जुनधारा नगरपालिका आऔँ, धर्म पनि कमाऔँ, रमाइलो गरौँ अनि नेपाल भ्रमण वर्ष २०२० पनि सफल पारौँ ।