अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व ठेक्काबाहेकको आन्तरिक आयबाट उठ्ने कर, शुल्क, राजश्व रकम हो ।

नगरपालिकाले यस आर्थिक वर्षमा पाँच करोड राजश्व संकलन गर्ने प्रक्षेपण गरेको थियो । बितेको आर्थिक वर्षमा २ करोड ५० लाख राजश्व उठाउने लक्ष्य लिइएकोमा ३ करोड २२ लाख रुपैयाँ संकलन भएपछि नगरपालिकाको राजश्व शाखाले यसवर्ष पाँच करोड राजश्व संकलन गर्ने महत्वकांक्षी लक्ष्य लिएको हो ।

माघ २० गतेसम्म दुई करोडभन्दा बढी राजश्व उठेपछि महत्वकांक्षी लक्ष्य नजिक पुग्ने अपेक्षा गरिएको राजश्व शाखा अधिकृत डेनजनी आचार्यले बताए । उनका अनुसार सबैभन्दा बढी पुस महिनामा ५८ लाख ५४ हजार ८५६ रुपैयाँ राजश्व संकलन भएको थियो भने सबैभन्दा कम असोज महिनामा १५ लाख ९५ हजार ९०१ रुपैयाँ संकलन भएको थियो ।

असोज महिनामा चाडपर्व परेकाले राजश्व संकलनमा कमी आएको उनको भनाइ छ । चालु आर्थिक वर्षको सुरु महिना साउनमा २५ लाख ७५ हजार २२२ रुपैयाँ संकलन भएको थियो ।

नगरपालिकामा सबैभन्दा बढी राजश्व भूमि तथा मालपोत करबाट ४४ लाख ७८ हजार ६१० रुपैयाँ संकलन भएको छ । त्यस्तै, नक्सा पास दस्तुरवापत २९ लाख ५३ हजार ९७७ रुपैयाँ संकलन भएको छ ।

नगरपालिकामा पहिलोपल्ट लागु गरिएको घर बहाल करवापत ६ लाख ११ हजार १९६ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, सिफारिस दस्तुरवापत नगरपालिकाले ६२ लाख ८ हजार ८६९ रुपैयाँ राजश्व असुली गरेको शाखाले जनाएको छ ।

यसपटक जग्गाको मूल्यांकनका आधारमा मालपोत र घरजग्गाको मूल्यांकनको आधारमा सम्पत्ति कर लागेकाले लक्षित राजश्व पूरा हुने शाखा अधिकृत आचार्यले बताए । ‘पहिलोपल्ट सम्पत्ति कर लागे पनि बाहिर हल्ला भएजस्तो नगरबासीलाई मार पर्ने गरी राजश्व दर तोकिएको छैन’, उनले भने ।

गतवर्ष घरधुरी करबाट १५ लाख २२ हजार संकलन भएकोमा यसवर्ष सम्पत्ति कर लागेकाले सोाबटै घरधुरी कर असुलउपर भएको र सम्पत्ति कर लागु भए पनि वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दाले गत वर्षभन्दा यसवर्ष मूल्यांकनका आधारमा कम राजश्व तिर्नुपरेको उनको भनाइ छ ।

नगरपालिकाले सम्पत्ति करबाट अहिलेसम्म चार लाख ४८९ रुपैयाँमा संकलन गरेको छ । बरु नगरपालिकाले निर्माण गरेको संरचनाबाट ५० वटा भाडामा लगाइएवापत बहाल बिटौरी कर १५ लाख ५४ हजार ४४२ रुपैयाँ असुल गरेको छ ।

नगरपालिकाले प्रक्षेपण गरेको राजश्व ५ करोड पूरा गर्न अझै ५ महिनाभन्दा बढी अवधि छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिनामा राजश्व बुझाउने सेवाग्राहीको चाप बढ्ने भएकाले लक्ष्य पूरा हुने शाखा अधिकृत आचार्यले दाबी गरेका छन् ।