बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ ।

संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उनीहरुलाई सम्मानपत्र तथा नगद प्रदान गरे । सम्मानितहरुलाई संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले दोसल्ला ओडाएका थिए ।

संस्थाले उत्कृष्ट पत्रकारका रुपमा कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, सामाजिक क्षेत्रतर्फ तारा नमस्ते बालग्रामकी यशोदा पोखरेल चापागाईं, सहकारी अधिकृत डिल्ली दाहाल तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारीलाई नगद र सम्मानपत्र प्रदान गरेको छ ।

सहकारी अभियान्ताहरु गणेश ढकाल र घनश्याम अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, कर्मचारीतर्फ कृष्णप्रसाद कडरिया, इन्दिरा भट्टराई, वेदप्रसाद आचार्य, भानुदेवी रिजाल, गोकर्ण घिमिरे, सुकमाया राई र दुर्गा पौडेललाई पुरस्कृत गरिएको छ ।

संस्थाले गौरादह सेवाकन्द्रसहित तीनवटा महिला समूहलाई सम्मान गरेको छ भने रञ्जु मिश्र र नेत्र घिमिरेलाई उत्कृष्ट सदस्यका रुपमा पुरस्कृत गरेको छ । संस्थाका सचिव सुवास भट्टराईका अनुसार सामाजिक उत्तरदायित्वतर्फ बिर्तामोडको तारा नमस्ते बालग्राम र झापा नाटक घरलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । बिर्तामोडमा बहुसांस्कृतिक संग्राहलयसहित झापा नाटक घर निर्माणाधीन छ ।

संस्थाका अध्यक्ष कमलबहमदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, जिल्ला सहकारी संघ झापाका सहसचिव भानु दंगाल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गणेश पोखरेल र सम्मानित व्याक्तित्व डिल्ली दाहाललगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।