खुदुनाबारी । विगत केही महिनादेखि क्यान्सर रोगका कारण थलिएकी झापा अर्जुनधारा–२ की ३८ वर्षीया मनमाया खतिवडा चौहानको उपचार खर्चका लागि स्थानीय जुटेका छन् ।

परिवारको एकमात्र सहारा श्रीमानले कान्छी श्रीमती लगेर सम्पर्कविहीन भएपछि गाउँछिमेकमा बनीबुतो गर्दै दैनिकी गुजारिरहेकी उनलाई गत कात्तिकमा उपचारको लागि झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा पुगेपछि तेस्रो चरणको क्यान्सर रोग भएको पत्ता लागेको थियो ।

१३ वर्षीया छोरी मीनाको जिम्मेवारी पनि उनकै काँधमा रहेको उनका श्रीमान् मणि चौहान विगत ११ वर्षदेखि सम्पर्कमा नआएको उनले बताइन् । आर्थिक अवस्था कमजोर रहेकी उनले भनिन् ‘सम्पत्तिको नाममा पहिले खोला कुदेको एक कठ्ठा जमिनमा फुसको छानो र टाटीले बेरेको ढल्न लागेको घरमात्र छ ।’

छोरी मीनासँगै पत्रकार भेटघाटमा सहभागी भएकी उनले क्यान्सर लाग्नुअघिको आफ्नो रोगबारे पनि जानकारी दिइन् । गतसालको पुसमा बिर्तामोडस्थित काफ्ले आयुर्वेदिक मेडिकलमा स्वास्थ्य परीक्षण गर्न जाँदा उनले आफूलाई पाइल्स भएको थाहा पाइन् । पाइल्स भएको थाहा भएपछि सोही मेडिकलबाट सात महिनासम्म औषधि उपचार गर्दा पनि निको नभएपछि थप उपचारको लागि उनी भारतको पानीट्याङकीसम्म पुगेकी थिइन् ।

रोग निको हुने आसमा पानीट्याङकीसम्म पुगी उपचार गरेकी उनलाई त्यहाँ प्रयोग गरिएको सुईले रोग निको नभइ असोजदेखि त मलद्वार बन्द भइ पिसाब घरबाट दिसा आउन सुरु भएको उनले बताइन् । त्यसपछि उपचारको लागि भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल गएपछि उनलाई क्यान्सर भएको पत्ता लागेको हो ।

क्यान्सर भएको थाहा पाएपछि चितवनस्थित भरतपुर क्यान्सर हस्पिटलमा उपचारका लागि गएका उनको परिवारलाई १६ लाख उपचार खर्च जुटाएको खण्डमा उपचार सम्भव भइ रोग निको हुने हस्पिटलका चिकित्सकबाट आश्वासन पाएको मनमायाकी दाइ नरबहादुर खतिवडाले जानकारी दिए । हाल हस्पिटलको निर्देशनअनुसार २६ हजारबराबरको औषधि खाइरहेको उनले माघ अन्तिमतिर हस्पिटल जानुपर्ने बताइन् ।

रोगबाट थलिएपछि आफू बसेको घर छोडी हाल झेलेनीस्थित माइतीघरमा बस्दै आएकी उनको उपचारको लागि १३ महिनाको क्रममा छ लाख १० हजार रुपैयाँ खर्च भएको परिवारलाई उद्धृत गर्दै मनमाया चौहान बचाऊ अभिायन समितिका सदस्य बालकृष्ण खनालले जानकारी दिए ।

यसैबीच मनमायाको जीवन बचाउन गत माघ १६ गते स्थानीयस्तरमा सहयोग रकम संकलन गर्न अमृता बस्नेतको संयोजकत्वमा १३ सदस्यीय महिला समूह र बाह्य तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्न पुष्प खतिवडाको संयोजकत्वमा २५ सदस्यीय पुरुष समूह गठन भएको सदस्य खनालले बताए । महिला समूहमार्फत् हालसम्म १५ हजार सहयोग रकम संकलन भएको बताइएको छ ।

त्यसैगरी नेपाल सरकारले उपलब्ध गराउन स्वास्थ्य अनुदान र नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य सुविधाका लागि वडा समितिले प्रक्रिया अगाडि बढाएको अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालले बताए ।

श्रीमानले बेवास्ता गरेको अवस्थामा पनि एकल महिलाको रुपमा आफ्नो सन्तानका लागि संघर्षरत् मनमायालाई सहयोग गर्न चाहने इच्छुक महानुभावले सम्पर्क नम्बर ९८४२७१८०३६ र ९८४२६७२७४९ मा सम्पर्क गरी सहयोग गर्न समूह र परिवारका सदस्यहरुले सबैसँग आग्रह गरेको छ ।