झापा । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्र्तगतको कार्यक्रम बिहीबार वडा नं. ४ मा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका ११ वटै वडामा अर्जुनधारा नगरपालिकाले महोत्सव शुरु गरेको हो ।

नगरपालिकाले आयोजना गर्ने बृहत महोत्सवको तयारीस्वरुप वडाहरुमा आयोजना गरिएको कार्यक्रममा भाषा, कला, साहित्य समितिका तर्फबाट सांस्कतिक कार्यक्रम, कविता प्रतियोगितालगायत काम भइरहेको छ ।

त्यस्तै, नगर खेलकुद विकास समितिमार्फत वडामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् । राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालय र विद्यार्थी स्तरमा पनि खेलकुद प्रतियोगिता वडामार्फत पुराइएको छ ।

यसैगरी प्रत्येक वडामा विषयगत शाखाहरुले आफ्ना सेवा प्रवाहका बारेमा जानकारी सहित विविध सेवा प्रदान गरेका छन् । जसमा वडा नं. ४ मा भएको स्वास्थ्य शिविरमा एक सय जनाले पोषण परीक्षण, १५ जनाले ल्याव टेष्ट, ३५ जनाले पाठेघर परीक्षण साथै ७५ जनाले पशु सेवा र ५० जनाले कृषि सेवा निःशुल्क लिएका थिए ।

वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहालको अध्यक्षता तथा, नगर प्रमुख हरिकुमार राना, उममेयर कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललगायत वडाध्यक्षहरुको विशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्घााटन भएको थियो ।

वडा नं. ४ की सदस्य राधिका जवेगुले स्वागत गरेको कार्यक्रमलाई वडा सचिव सुरज राजवंशीले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा एक सयभन्दा बढी ज्येष्ठ नागरिकलाई टोपी लगाएर सम्मान गरिएको थियो भने महिलाहरुलाई दोसल्ला ओढाएर प्रमुख अथिति रानाले सम्मान गरेका थिए ।