झापा । झापासहित देशभर आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ ।

झापाको अर्जुनधारास्थित अर्जुनधारा जलेश्वरधाममा आज भक्तजनको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारामा बर्सेनि शिवरात्रीको अवसरमा ठूलो संख्यामा छिमेकी जिल्ला मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतबाट पूजा आजा गर्न आउने गरेका छन् ।

त्यस्तै, भारतको विभिन्न स्थानबाट समेत भक्तजन आउने गरेका छन् । त्यस्तै, झापाकै सतासीधाम, कनकाई धाममा समेत भक्तनजको घुइँचो लाग्ने गरेको छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।