अर्जुनधारा । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले स्थानीय तहले आयमुलक क्षेत्रको लगानीमा अभिबृद्धि गर्दै विपन्न वर्गको जीवनस्तर उठाउन सकिने बताएकी छिन् ।

अर्जुनधारा नगरपालिकाले अभियानका रुपमा अघि सारेको धार्मिक तथा पर्टकीय महोत्सवले नागरिकले लाभ लिन सक्नुपर्ने उनले प्रष्ट पारेकी छिन् । पर्यटनको हिसाबले झापाकै धेरै सम्भावना बोकेको अर्जुनधाराले पर्यटन क्षेत्रमार्फत सरकारको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाइ छ ।

अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा जारी नगर महोत्सवको पूर्वतयारी कार्यक्रमअन्तर्गत शुक्रबार वडा नम्बर ५ मा सुरु भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका ११ वटै वडामा महोत्सवको तयारी नगरपालिकाले गरेको हो ।

वडा नम्बर ५ मा भएको स्वास्थ्य शिविरमा पोषण, ल्याब टेष्ट, पाठेघर परीक्षणका साथै पशु सेवा र कृषि सेवा निशुल्क दिइएको थियो । कार्यक्रमको अवसर पारेर तेक्वान्दो खेलबाट वडाको गरिमा उच्च बनाएको भन्दै वडा कार्यालयले खेलाडी अरुण डाँगी र सिजन बुढाथोकीलाई नगदसहित सम्मान गरेको छ ।

वडा नम्बर ५ का अध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले गरेकी थिइन् । कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, नगर उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलको विशिष्ट आतिथ्यता रहेको थियो । वडा नम्बर ५ का सदस्य देवी घिमिरेले स्वागत गरेको कार्यक्रमलाई वडा सचिव राजु गिरीले सञ्चाल गरेका थिए ।