झापा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको २६औँ मिनेटमा लेटाङकी एमा राईले गोल गर्दै खाता खोलेकी थिइन् । त्यस्तै, टिमका लागि सपना मगरले खेलको ३५औँ मिनेटमा दोस्रो गोल गरेर तेह्रथुमविरुद्ध २–० गोलको अग्रता दिलाइन् ।

प्रतिस्पर्धात्मक खेलमा तेह्रथुमले दोस्रो हाफमा लय समाए पनि पनि जीत सम्भव भएन । तर, खेलको ४७औँ मिनेटमा कप्तान एनिन लिम्बूले गोल गरेर खेलमा फर्किने प्रयास गरिन् । उनले फ्रिकिकमार्फत सुन्दर गोल गरेकी थिइन् ।

यसैबीच, लेटाङकी आशा लिम्बूले हेडरमार्फत गोल गरेर फराकिलो गोलअन्तर निकालेर टिमलाई जिताइन् । खेलको वुमन अफ दी म्याच लेटाङकी कप्तान सावित्रा मगर घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

सोमबार साविक विजेता कर्णसिं सोना फुटबल क्लब ताप्लेजुङले माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।