झापा । आयोजक सृजनशिल युवा समाज बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक सृजनशिल युवा समाजले न्यु स्टार खोपबाडी ४–२ गोलअन्तरमा पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको पहिलो हाफसम्म न्यु स्टारले दुई गोल गरे पनि दोस्रो हाफमा आक्रमक बनेको आयोजकले गोल संख्या दोब्बर बनाउँदै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । अब उसले सेमिफाइनलमा मुनाल क्लब चन्द्रगढीसँग भिड्ने पक्का भएको छ ।

खेलमा न्यु स्टारकाका लागि बिश्वास लावतीले पहिलो गोल गरेका थिए भने सुजन बयलकोटीले दोस्रो गोल गरेका थिए । त्यस्तै आयोजक सृजनशिल युवा समाजको जितका लागि राजेश श्रेष्ठ र बबिन बोहोराले व्यक्तिगत दुई-दुई गोल गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच आयोजक सृजनशिल युवा समाजका राजेश श्रेष्ठ घोषित भए । जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।