बिर्तामोड । मानिस मानिसबीचको नजिकको सम्पर्कबाट सङक्रमण फैलिने कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न उपाय अपनाउन थालिएको छ ।

लकडाउनको अवस्थामा पनि खुला रहने औषधि तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तु र तरकारीका पसलमा लाग्ने सेवाग्रहीको भीड कम गर्न र मानिस मानिसबीच निश्चित दूरी कायम गर्न झापामा व्यवसायीहरुले नयाँ उपाय अपनाएका हुन् ।

स्थानीय प्रशासनको समन्वय र सहयोगमा झापाको विर्तामोडमा त्यस्ता पसलमा आउने ग्राहकबीच दूरी कायम गर्न एक मिटरभन्दा बढीको दूरीमा भूइँमा गोलाकार चिन्ह बनाइएको छ, ग्राहकले पालैपालो त्यही गोलाकार चिन्हभित्र उभिएर आवश्यक सामग्री खरिद गर्नेछन् ।

चेम्बर अफ कमर्स झापाको अग्रसरतामा अपनाइएको उक्त उपाय प्रभावकारी हुने देखिएको चेम्बर अफ कमर्स झापाका पूर्व अध्यक्ष एवम् किराना व्यवसायी सन्तोष अग्रवालले बताए ।

उनले यो उपाय सबै बजारमा सबै अत्यावश्यक व्यवसायका सबै प्रतिष्ठानले अवलम्बन गरे कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

 

 

 

 

 

 

 

 

 

तस्वीर सामाजिक सञ्जालबाट लिइएकाे हाे ।