झापा । गएको डिसेम्बरबाट देखिएको कोरोना (कोभिड–१९) महामारीको संक्रमण विश्वका १९८ देशमा फैलिइसकेको छ । झण्डै दुई महीना चीन बाहेक अन्य केही देशमा मात्रै देखिएको कोरोना मार्चदेखि भने विश्वभर तीव्र गतिमा फैलिदै गएको छ ।

विशेषगरी कोरोनाको प्रकोप यूरोपेली मुलुकहरुमा बढी देखिएको छ । यूरोपेली मुलुक इटाली, स्पेन, फ्रान्स, स्वीजरल्याण्ड लगायत मुलुकमा महामारीले ठूलो संख्यामा मानिसले ज्यान गुमाइसकेका छन् ।

बिहीबारसम्म कोरोना महामारीको प्रकोपबाट मृत्यु हुनेको संख्या २४ हजार नाघिसकेको छ । इटाली, स्पेन, चीनपछि इरानमा धेरै नागरिकले ज्यान गुमाएका छन् । इरानमा मृतक संख्या दुई हजार नाघेको छ ।

पछिल्लो अपडेटअनुसार इटालीमा मात्रै आठ हजार २१५ नागरिकको मृत्यु भएको छ । यसमध्ये ७१२ जना नयाँ मृतकको संख्या हो । संक्रमित संख्याका हिसाबले इटाली चीन पछि दोस्रो हो । तीन हजार दुई सय ९२ जनाको ज्यान गुमाएको चीनमा ८१ हजार ३४० जना संक्रमित भएका थिए । तर, चीनले यो महामारी नियन्त्रणमा लिइसकेको छ ।

इटालीमा भने हरेक दिन ठूलो संख्यामा संक्रमित देखिने गरेका छन् । बिहीबारसम्म इटालीमा ७४ हजारभन्दा बढी संक्रमित भएका थिए । अहिले यो संख्या ८० हजार ५८९ पुगेको छ । जसमा ६ हजार २०३ जना संक्रमणका नयाँ बिरामी फेला परेका हुन् । यहाँ मृतकको स ंख्या ७१२ जनाले बढेर अहिले ८ हजार २१५ जना पुगेको छ ।

इटाली जस्तै अमेरिकामा पनि महामारी तीव्र गतिमा फैलिएको छ । कोरोना महामारीबाट एक हजार २९५ नागरिकको ज्यान लिएको अमेकारिमा ८५ हजार ४३५ जना संक्रमित भएका छन् । यहाँ १७ हजार २२२ जना नयाँ बिरामी भएका हुन् भने २६८ जनाको ज्यान गएको हो ।

स्पेनमा ५७ हजार ७८६ जनामा संक्रमण भएको छ । जसमा ८ हजार २७१ जना नयाँ संक्रमितको संख्या हो भने मृतकको संख्या चार हजार ३६५ पुगेको छ । हिजोमात्र ७१८ जनाले ज्यान गुमाएका छन् ।

यसपछि इरानमा संक्रमितको अवस्था भयावह रहेको छ । २९ हजार ४०६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ २ हजार २३४ जनाले ज्यान गुमाइसकेका छन् । जसमा १५७ जनाको पछिल्लोपटक ज्यान गएको हो ।

यो महामारीबाट विश्वभर गरी पाँच लाख ३१ हजार ८६४ जना संक्रमित भएकोमा अहिलेसम्म एक लाख २३ हजार ९४२ जना बिरामी मात्रै निको भएका छन् ।