झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई बिहीबार एकाबिहानै ५० जनाभन्दा बढीलाई उभ्याइएको छ ।

लकडाउन उल्लघंन बढेपछि झापामा प्रहरीले बुधबारदेखि नयाँ रणनीति अपनाएको थियो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई सडकमै २ घण्टा उभ्याएर कारवाही थालेको हो ।

बिहीबार बिहान ८ बजेर ५ मिनेटदेखि सुरु गरेको यस अभियानमा एक घण्टाको अवधिभित्र ५० जनाभन्दा बढीलाई कारबाही गरिएको थियो । उनीहरुलाई २ घण्टा एकै ठाउँमा उभ्याएपछि सम्झाएर घर पठाइने गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी, सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्प र जिल्ला ट्राफिक कार्यालय झापाको संयुक्त टोलीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर बुधबारदेखि जिल्लाको बिर्तामोडस्थित मुक्तिचोकमा सामाजिक दूरीमा राखेर कारवाही थालेको छ ।

लकडाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बहाना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो । प्रहरीले लकडाउन उल्लंघन गरी हिँडडुल गर्ने र सवारी चलाउने ७० जनाभन्दा बढीलाई बुधबार २ घण्टा उभ्याएको थियो ।

औषधिको स्लिप बोकेर हिँडिरहेका अधिकांशले बहाना बनाउने गरेको सुरक्षाकर्मीको भनाइ छ । यसैबीच, लकडाउनका बेला चलाइएका सवारी नियन्त्रणमा लिइएको छ भने उक्त सवारीसाधन लकडाउन खुलेपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्र धनीलाई दिइने प्रहरीले जनाएको छ ।