विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोषमा यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेकाले १५ करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुधबार रातिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको पनि जानकारी दिए ।

उनले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणापत्रलाई सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिए ।

प्रदेश सरकारले कोरोना प्रभावित, पहिचान तथा राहत वितरणसम्बन्धी निर्देशिका जारी गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई ५ लाख र क्यान्सर पीडित पत्रकार कमल पौडेललाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।