काठमाडौँ । सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथा तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सङ्कटको बेला अग्रभागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

त्यसै निर्णयबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको समितिका सदस्य सचिवसमेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

प्रहरी अधिकृत कसैले स्वेच्छिक रूपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य नहुने उहाँले बताउनुभयो । सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरेको छ ।