लक्ष्मी उप्रेती,
झापा । झापाका आठ वटा नगरपालिकाका नगर प्रमुखहरुले विश्वव्यापीरुपमा महामारीको रुप लिनसक्ने कोभिड—१९ अर्थात् कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट उत्पन्न परिस्थितिका बारेमा १४ बुँदे साझा सहमति गरेका छन् ।

बिहीबार मेचीनगर नगरपालिकाको संयोजनमा नगर प्रमुखहरुको भेलाले नेपाल सरकारबाट २०७६ साल चैत ११ गतेदेखि लकडाउनको घोषणा भई कार्यान्वयनमा रहेको अवस्थामा कोरोना भाइरसको सम्भाव्य संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न आआफ्ना नगरपालिकाको अवस्था समीक्षा गरी सकेसम्म एकरुपता हुने गरी कार्यान्वयन गर्न सहमति भएको निर्णय गरेको छ ।

नगर प्रमुखहरुको भेलामा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि हाल कार्यान्वयनमा रहेको लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न तथा सागसब्जी पसल खोल्ने समय तालिका अझ व्यावहारिक बनाउने, सबै पालिकाभित्र खाद्यान्न अभाव हुन नदिन नगरपालिकाभित्र रहेको खाद्य उद्योग सञ्चालनको लागि मापदण्ड तयार गरी उद्योग सञ्चालनका लागि सहजीकरण गर्ने, लामो समयसम्म लकडाउन जारी रहेमा खाद्य संकट सिर्जना हुन सक्ने भएको तर्फ सचेत रहन जरुरी ठानिएको छ ।

लकडाउनमा खाद्यान्न वालीको लागि इन्धन र वीऊको व्यवस्थापन गर्न तथा नगदे बाली, चिया बगान र उद्योग सञ्चालनको मापदण्ड तयार गरी सञ्चालन गर्न सहजीकरण र समन्वय गर्ने ,कृषकहरुलाई आवश्यकताअनुसार कृषि मल उपलब्ध गराउन साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङ लिमिटेडसँग समन्वय गरी मागको आधारमा आपूर्ति व्यवस्था मिलाउने निर्णय गरेको छ । सोको व्यवस्थापनको लागि १ नं प्रदेश सरकारलाई अनुरोध गर्ने साझा सहमती भएको छ ।

यसैगरी, स्वास्थ्यकर्मीको लागि पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री खरिद व्यवस्था गर्न कठिनाइ भइरहेकोमा व्यवस्थापनको लागि प्रदेश तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने, आरटिडी तथा पीसीआर को समेत पर्याप्त व्यवस्थापन गर्न सहयोगको लागि सबैले सम्बद्ध निकायमा सामुहिकरुपमा पहल गर्ने, आपतकालीन राहत वितरणको कार्यलाई व्यवस्थापन गर्न एकद्वार वितरण प्रणाली अपनाउने, गाउँवस्तीसम्म अत्यावश्यक खाद्य सामग्री विक्री वितरण गर्न निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने, आपतकालीन अवस्थामा खाद्य सामग्री वडा तथा टोल वस्तीमा स्थानीय स्तरमै स्वव्यवस्थापन गर्न वडा समिति र टोल विकास सँस्थाहरुलाई प्रेरित गर्ने, काठमाडौ लगायत देशका विभिन्न स्थानबाट आफ्ना नगरबासीको उद्घार गरी आआफ्ना पालिकामा ल्याउने सम्बन्धमा आगामी २०७७ बैशाख १६ गतेका दिन दिनको ११ बजे विर्तामोड नगरपालिकामा बस्ने बैठकपछि निर्णय भए अनुसार मात्र गर्ने निर्णय भएको छ ।

दमक, काँकरभिट्टा लगायतका झापा प्रवेश गर्ने नाकाबाट आउने सम्भाव्य संक्रमित सवारी साधन र मानिसहरुको प्रवेशमा सम्बद्ध पालिकाले उच्च सतर्कता अपनाउने, कोरोनाभाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रणको काममा पालिकाहरुबाट सम्पादन भइरहेको कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार, निजी क्षेत्र, नागरिक समाज, स्वास्थ्यकमी तथा राष्ट्रसेवक कर्मचारीहरुलगायत सम्बद्ध सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय समेत भेलाले निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भाव्य संक्रमण रोकथाम तथा नियन्त्रणको काममा संलग्न सुरक्षकर्मी तथा सञ्चारकर्मीको आवश्यक सुरक्षा सामग्री व्यवस्थापन हुन १ नम्बर प्रदेश सरकार र नेपाल सरकार समक्ष अनुरोध गर्ने पनि निर्णय भएको छ ।

त्यस्तै, झापा जिल्लाभरिका स्थानीय तहहरुवीच हालको कोरोनाभाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रणको कार्यमा प्रभावकारी तवरले एकरुपता कायम हुने गरी व्यवस्थापन गर्न पारस्परिक सहकार्य र समन्वयको कार्यलाई निरन्तरता दिने नगर प्रमुखहरुको भेलाले निर्णय गरेको थिया ।

भेलामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, अर्जुनधाराका नगरप्रमुख हरि राना, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिकका प्रमुख चन्द्रकुमार शेर्मा उपप्रमुख भोजकुमारी दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह रहनुभएको थियो ।