राजु घिसिङ,
काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० को महामारीको कारण फुटबल गतिविधि ठप्प भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को महत्वकांक्षी कार्यक्रम ‘राष्ट्रिय लिग’ नै अनिश्‍चित बनेको छ । वैशाख—जेठमा आयोजना गर्ने भनिएको राष्ट्रिय लिगको छनोट नै सकिएको छैन ।

‘राष्ट्रिय लिग वैशाख—जेठमा सिध्याउने भनेको हो, अब जेठसम्म आयोजना सम्भव नै छैन,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘अब वर्षायाम सुरु हुन्छ, यसमा लिग सञ्चालन गर्न सकिँदैन । दुई महिना (भदौ र असोज) मा फुटबल गर्न सकिन्छ । त्यसैले दसैं अगाडिसम्म राष्ट्रिय लिग सिध्याउन सकिन्छ कि भन्ने हो । यसको लागि बजेट र प्रायोजक हेर्नुपर्छ । प्राविधिक पक्ष र सरोकारवाला क्लबहरू सबैसँग छलफल नगरी राष्ट्रिय लिगबारे केही भन्न सकिने अवस्था छैन । एक किसिमको अन्योल सिर्जना भएको छ ।’

कोरोना भाइरसले नेपालमा पनि संकट सिर्जना गरेपछि चलिरहेको उपत्यकाको सहिद स्मारक बी डिभिजन लिग ५ चैतसम्ममात्रै सम्भव भयो । त्यसयता फुटबलका सबै किसिमका प्रतियोगिता ठप्प छ । मोफसलका प्रतियोगिता पनि रोकिएका छन् । महिला लिग र राजधानीको सी डिभिजन लिग पनि स्थगित भयो ।

ललित स्मृति यू १८ र स्कुल स्तरको क्वीक्स कप पनि अनिश्चित बनेको छ । ‘सबै कार्यक्रमको तालिका फेरियो । फुटबलका कोरोना भाइरसले ठूलै असर गऱ्यो । मोफसलका प्रतियोगितालाई व्यवस्थापन गर्न, लिग तथा अन्य धेरै कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो अवस्था सिर्जना भएको छ,’ महासचिव तुलाधरले भने ।

जिल्ला लिगको विजेताले प्रदेश लिग खेल्ने र प्रदेश च्याम्पियनले एन्फा प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्ने गरी एन्फाले राष्ट्रिय लिगको छनोटको आधार बनाएको थियो । सात प्रदेशका च्याम्पियनहरूको प्रतिस्पर्धापछि एन्फा प्रेसिडेन्ट कपको शीर्ष चारमा रहने क्लबहरू राष्ट्रिय लिगमा छनोट हुने भनिएको थियो ।

ती चार क्लबसँगै उपत्यकाको सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ क्लबले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने बताइएको थियो । सहिद स्मारक ए डिभिजन लिग भने फागुनमै सम्पन्न भइसकेको छ र यसबाट राष्ट्रिय लिगलाई मछिन्द्र, आर्मी, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, पुलिस र जावलाखेल छनोट भइसकेका छन् ।

तर, एन्फा गत पुसमा प्रदेश लिग सकाउने योजना बनाएर पनि एन्फाले फागुनसम्म तीन प्रदेशमा मात्रै सम्पन्न गरेपछि नै राष्ट्रिय लिग अनिश्चित बनेको थियो । प्रदेश १ मा सैनिक युथ क्लब (झापा), गण्डकीमा त्रिवेणी युवा क्लब (लमजुङ) र प्रदेश ५ मा धम्बोजी क्लब (बाँके) च्याम्पियन भए ।

प्रदेश २, वाग्मती, कर्णाली र सुदूरपश्चिमा प्रदेश लिग नै सञ्चालन भएको छैन । ‘प्रदेश लिग चैतसम्म सकाउने योजना थियो, अनि एन्फा प्रेसिडेन्ट कप वैशाख पहिलो हप्ता,’ एन्फाको लिग कमिटीका निर्देशक सञ्‍जीव मिश्रले भने, ‘कोरोनाले सबै कार्यक्रम प्रभावित भएको छ ।’

‘पहिला लिगअघि ब्रिटिस गोर्खा कप आयोजना गरेजस्तै राष्ट्रिय लिगको तयारीको रुपमा चैतमै एन्फा कप सञ्चालन गर्ने योजना पनि थियो । जसबाट क्लबहरूलाई आफ्नो कमीकमजोरी सच्याउने अवसर मिल्थ्यो । यो प्रतियोगिता पनि सम्भव भएन,’ महासचिव तुलाधरले भने ।

उनकाअनुसार एन्फा एकेडेमीको लागि महिला र पुरुषको खेलाडीको छनोट पनि स्थगित भएको छ । विश्वकप २०२२रएसियन कप २०२३ छनोटमा नेपाली राष्ट्रिय टिमको अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनविरुद्धको खेल पनि सरेको छ ।

तीन विभागीय र उपमेयर कपबाट छनोट भएका सात टिमबीच विराटनगरमा चैत २ देखि हुने भनिएको महिला लिग रोकिएपछि एन्फाका केन्द्रीय सदस्य एवम् महिला समिति संयोजक पेमा डोल्मा लामाले भनिन्, ‘अब कहिले हुन्छ भन्न सकिने अवस्था छैन । लकडाउन नखुलेसम्म केही गर्न सकिँदैन । यसबेला हाम्रो प्राथमिकता स्वास्थ्य नै हो ।’

आहा रारा गोल्डकप १ चैतमा पोखरा रंगशालामा सम्पन्न भयो र यो नै मोफसलको पछिल्लो प्रतियोगिता बन्यो । त्यसयताका सबै प्रतियोगिता स्थगित भएका छन् । आहा रारा गोल्डकपअघि सताक्षी (झापा), वाग्मती (मकवानपुर), राइनो (चितवन), बुढासुब्बा (धरान), खप्तड (धनगढी), माइभ्याली (इलाम) र राजर्षि जनक (सर्लाही) गोल्डकप सम्पन्न भएको थियो ।

पोखरा, तिलोत्तमा, झापा, मकवानपुर, दुहवी, मेचीनगरलगायत दर्जन गोल्डकप स्थगित भए । राजधानीको ए डिभिजन क्लबले एक महिनामा तीन प्रतियोगिता खेल्न पाउने प्रावधान एन्फाले यसैपाली ल्यायो ।

तर, एउटै समयमा ४—५ प्रतियोगितालाई स्वीकृति दिएको भन्दै गोल्डकप आयोजकहरूले एन्फाप्रति गुनासो गर्छन् । यसलाई पनि यसपाली कोभिड १९ ले ओझेलमा पारेको छ । कान्तिपुरबाट