महोत्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ ।

मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण त्रुटिपूर्ण हुन पुगेको हो ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो । आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सूचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सूचना त्रुटिपूर्ण भएको बताए । महोत्तरीमा संक्रमितको संख्या ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ति नै जारी गरी त्रुटि भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।

यसैबीच, पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिएका छन् ।

संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते हिँडेर ३० गते चितवनको भरतपुर आइपुगेका हुन । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २४६ पुगेको छ ।