बिर्तामोड । झापाकाे बिर्तामाेडमा केन्द्रीय कार्यालय रहेकाे एक्सेल डेभलपमेन्ट बैंक र त्यहाँ कार्यरत कर्मचारीले विपन्न चार सय परिवारलाई राहत बाँडेका छन् ।

झापा, मोरङ, इलाम, सुनसरी र पाँचथरमा रहेका शाखामार्फत एक्सेलका कर्मचारीले विपन्नलाई राहत बाँडेका हुन् । एक्सेल बैङ्कको कर्मचारी युनियनमार्फत राहत बाँडिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कर्मचारी युनियनले आफ्नो कार्य क्षेत्रभित्रका विपन्न परिवारलाई प्रतिपरिवार २० किलो चामल, पाँच किलो आँटा, दुई लिटर तेल, दुई किलो नुन, एक किलो मुरही, दुई प्याकेट मसला, दुई प्याकेट बेसार र दुई किलो चिउरा बाँडेको छ ।

बैंकमा कार्यरत कर्मचारीको दुई दिनको तलव विपन्न परिवारका लागि गाँस जुटाउन सहयोग गरिएको युनियनले जनाएको छ । खाद्यान्न वितरणमा आठ लाख ४० हजार खर्च भएको बताइएको छ । सोमबार भद्रपुर नगर क्षेत्रमा रहेका तीन वटा शाखाले अति विपन्न परिवारका ४० घर परिवारलाई वितरण गरियो ।

त्यस्तै, आइतवार मात्र विर्तामोड नगर क्षेत्रमा ४५, कन्काईमा ४०, भद्रपुरमा ४० र महेन्द्र चोक विराटनगरबाट ११ परिवारलाई खाद्यान्न सहयोग गरिएको बैंकको केन्द्रीय कार्यालयअन्तरगत सञ्चालन विभाग प्रमुख सुमन लामिछानेले जानकारी दिए ।